साहस उर्जाको नाफा पौने ४८ करोड, ८०.३६ प्रतिशत बढ्यो

0
Shares

साहस उर्जा कम्पनी लिमिटेडको खुद नाफा ८०.३६ प्रतिशत वृद्धि भएको छ । चैतसम्म कम्पनीले ४७ करोड ८१ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । विद्युत विक्री बापत आम्दानी गर्न थालेपछि कम्पनीको नाफामा वृद्धि भएको हो । गत आवको सोही अवधिमा कम्पनीले २६ करोड ५१ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवको तेस्रो त्रैमाससम्म साहस उर्जाको विद्युत विक्री आय २ अर्ब २ करोड ५२ लाख ७१ हजार पुगेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले २१ करोड ८० लाख ८१ हजार रुपैयाँ विद्युत विक्री आम्दानी गरेको थियो ।

चुक्ता पुँजी ३ अर्ब ५० करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा रिटेर्न अर्निङ्गमा २ अर्ब ६२ करोड ३४ लाख सञ्चित गरेको छ । अघिल्लो आवमा रिटेर्न अर्निङ्गमा २ अर्ब ३६ करोड ३५ लाख थियो ।  चैतसम्म कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १८ रुपैयाँ २२ पैसा  र प्रति सेयर नेटवर्थ १७५ रुपैयाँ ११ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८५ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात २८.४९ गुणा छ ।

सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको प्रशासनिक खर्च १ करोड ६७ लाखबाट बढेर ७ करोड १७ लाख रुपैयाँ र वित्तीय खर्च १४ करोड ७१ लाखबाट बढेर ९१ करोड ६८ लाख रुपैयाँ पुगेको छ । चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको ऋण १० अर्ब ३१ करोड ६ लाख रुपैयाँभन्दा बढी छ ।

कम्पनीद्वारा प्रवद्र्धित सोलुखुम्बु स्थित सोलुखोला (दुधकोशी) जलविद्युत आयोजना ८६ मेगावाटको निर्माण सम्पन्न पश्चात निरन्तर व्यावसायिक उत्पादन भईरहेको छ । कम्पनीले सेयरधनीहरूको हितमा काम गर्दै कम्पनीलाई अगाडि बढाउन कम्पनीको उद्देश्य बमोजिम ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना आर्थिक तथा प्राविधिक दुवै पक्षबाट निर्माण तथा संचालनका लागि उपयुक्त देखिएकाले लगानी तथा प्रवद्र्धन गर्ने निर्णय गरेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।