शिखर इन्स्योरेन्सको अधिकांश सूचकमा आकर्षक वृद्धि, खुद नाफा ३९ कराेड धेरै

0
Shares

निर्जीवन बीमा कम्पनीमा सबैभन्दा अब्बल कम्पनीको रुपमा स्थापित शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ३९ करोड २ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ३० करोड ९१ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद नाफा २६.२३ प्रतिशत बढेको हो । इन्स्योरेन्सका खुद बीमाशुल्क तथा कुल आम्दानी बढेको र दाबी भुक्तानी तथा खर्च घटेका कारण नाफा वृद्धिमा टेवा पुगेको हो ।

मर्जर तथा प्राप्तीका कारण अन्य निर्जीवन बीमा कम्पनीहरु ठूलो आकारको भएपनि शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो व्यवसाय बृद्धि गर्न सफल भएको देखिएको हो । कम्पनीको व्यवसायमा वृद्धि तथा लगानीबाट प्राप्त आम्दानीमा भएको बढोत्तरीले मुनाफामा आकर्षक वृद्धि देखिएको हो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी ३.४४ प्रतिशत बढेर १ अर्ब ७८ करोड ५० लाख ७८ हजार रुपैयाँ पुगेको छ भने कुल खर्च २.५७ प्रतिशत घटेर १ अर्ब २३ करोड ६८ लाख ४७ हजार रुपैयाँमा झरेको छ । समीक्षा अवधीमा शिखर इन्स्योरेन्सको लगानीबाट प्राप्त आम्दानी २ करोड ४२ लाख घटेर २५ करोड ८४ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । कम्पनीको पुनर्बीमा कमिशन आम्दानी पनि ४८ करोडबाट झरेर ४२ करोडमा सीमित हुन पुगेको छ ।

प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा इन्स्योरेन्सले खुद बीमाशुल्क १६.०६ प्रतिशतले बढाउँदै १ अर्ब ८ करोड १६ लाख १० हजार रुपैयाँ संकलन गरेको छ । इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा २१.६९ प्रतिशतले घटेर ५७ करोड २ लाख ७० हजार रुपैयाँ रहेको छ । मन्दीका कारण आर्थिक गतिविधिमा आएको कमीका वावजुत शिखर इन्स्योरेन्सले उत्कृष्ट नतिजा पस्केको हो ।

चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँमा स्थिर रहेको इन्स्योरेन्सको विशेष जगेडा कोष १३.३४ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ७४ लाख ५९ हजार सञ्चित भएको छ । साथै महाविपत्ती कोष १६.८८प्रतिशत बढेर १३ करोड ५१ लाख ३४ हजार, रिटेन्ड अर्निङ्ग १९१.९६ प्रतिशतले बढेर २६ करोड ११ लाख ७६ हजार रुपैयाँ र अन्य इक्विटी ४.१२ प्रतिशत बढेर ५८ करोड ७६ लाख रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषको आकार ७१ करोड १३ लाखले बढेर ५ अर्ब ७७ करोड ३५ लाख ५ हजार रुपैयाँ पुगेको छ । समग्रमा कम्पनीको कोषको आकार ७ अर्ब ७८ करोड बढी पुगेको छ ।

यस्तै नाफासँगै इन्स्योरेन्सको प्रति सेयर आम्दानी ४ रुपैयाँ ७ पैसा बढेर १९ रुपैयाँ ६० पैसा पुगेको छ । चैत मसान्तसम्ममा इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ १९९ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात ३५.२४ गुणा रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब १६ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेकोमा चालु आवको सोही अवधिमा ३ अर्ब ५७ करोड २० लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा पुनर्बीमा वापत १ अर्ब २३ करोड रुपैयाँ खर्चिको कम्पनीले चालु आवको सोही अवधिमा १ अर्ब ४९ करोड रुपैयाँ खर्चिएको छ । साथै गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३० लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएकोमा अहिले ५ करोड ७८ लाख रुपैयाँ धेरै खर्च गरेको छ ।

चैतसम्म शिखर इन्स्योरेरन्सले गत आवभन्दा ३८ हजार बढी २ लाख ४१ हजार ५४८ ओटा बीमा पोलिसी जारी गरेको छ। कम्पनीले चैतसम्म १ अर्ब ४५ करोड ५३लाख रुपैयाँ अल्पकालीन लगानी गरेको छ भने ३ अर्ब १४ करोड१७ लाख रुपैयाँ दीर्घकालीन लगानी गरेको छ। कम्पनीको सल्भेन्सी रेसियो ३.३३ गुणा छ । नियामकीय प्रावधान अनुसार बीमा कम्पनीले न्यूनतम १.५० गुणा कायम गर्नुपर्ने हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।