कहाँ पुग्यो जडीबुटी–कोटेश्वर–तीनकुने खण्डमा फ्लाइओभर सुरुङमार्ग निर्माणको काम ?


काठमाण्डौंको ट्राफिक व्यवस्थापन गर्न सरकारले कोटेश्वरमा फ्लाइओभर र सुरुङमार्ग बनाउने कुरा चलाएको वर्षौ भइसक्यो । सरकारले आर्थिक वर्ष २०७४\७५ को नीति तथा कार्यक्रममा यो परियोजना बनाउने घोषणा गरे पनि काम सुरु गर्न भने अन्योलता कायमै रहेको छ ।

जापानी सहयोग नियोग जाइकाको सहयोगमा जडीबुटी–कोटेश्वर–तीनकुने खण्डमा फ्लाइओभर सुरुङमार्ग (अन्डरपास) सहितको संरचना बनाउने भनेतापनि सम्झौता नहुँदा यसले अन्योलता सिर्जना गरेको हो। उक्त सुरुङ निर्माण गर्न जाइकाले अध्ययन समेत गरिसकेको छ ।

जाइकाले २०७६ को कात्तिक महिनामा नै अध्ययनको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको थियो । तर यसको टुंगो भने अहिलेसम्म लागेको छैन । यता, बैशाख २३ गते जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि नेपाल आएकी थिइन् । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेकी थिइन् । यस्तै उनले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने समेत गरेकी थिइन् । उक्त भेटवार्तामा पनि नेपालले उक्त आयोजनाको विषयमा कुनै छलफल नभएको बुझिएको छ ।

नेपालले जापानसँग उक्त आयोजना निर्माणको लागि जापानले दिने ऋण सम्झौतामा भएको ढिलासुस्तीले उक्त फ्लाइओभर निर्माणमा कठिनाइ भएको विकास सहायता महाशाखाका प्रमुख तथा उपमहानिर्देशक डा. विजयकुमार जैसीले बताए ।

उपमहानिर्देशक जैसीका अनुसार जडीबुटीबाट तीनकुनेको मुनिभैरव मन्दिर छेउसम्म ६०० मिटरको सुरुङ बन्नेछ । मनोहरा पुलदेखि पेप्सीकोला मोडिने चोकसम्म फ्लाइओभर बनाउने तयारी गरिएको छ । यो सुरुङ विमानस्थलको रनवे–सिग्नल दिने लाइट राखिएको क्षेत्रभन्दा मुनि भएर खनिनेछ ।

तीनकुनेको मुनिभैरव मन्दिरसम्म बन्ने सुरुङमार्गको मुखमा फ्लाइओभर जोडेर त्यसलाई बाग्मती पुलसम्म ल्याउने योजना छ । यसअनुसार दुवैतर्फ गरेर करिब ५०० मिटरको फ्लाइओभर पनि बनाइने उनले बताए । आयोजना निर्माणको लागि सरकारले करिब २५ अर्ब रुपैयाँ लगानी गर्ने भनेता पनि यो आयोजनाको लागत कति लाग्छ भन्नेबारे भने डिपिआर बनाएपछि मात्रै हुने उनले बताए।

उक्त निर्माण सम्पन्न गर्न ६ वर्ष लाग्ने बताउँदै उनले भने “६ वर्ष पछि ट्राफिक व्यवस्थापनमा सहज हुने विश्वास गरिएको छ ।” अर्थ मन्त्रालयले उक्त मार्गको लागि ऋण सम्झौता गर्ने तयारी गरिएको र सम्झौता लगत्तै काम थालिने उनले बताए । अन्य सबै तयारी पूरा भएको बताउँदै उपमहानिर्देशक जैसीले ऋण सम्झौता लगत्तै विस्तृत परियोजना रिपोर्ट (डिपिआर) बनाउने काम अघि बढाउने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।