शर्मा किर्गिज गणतन्त्रको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा खुल्यो कार्यालय


काठमाडौंको सीतापाइलामा किर्गिजस्तानको अवैतनिक वाणिज्य दूतको कार्यालय खुलेको छ । नेपालका लागि किर्गिजस्तानका गैरआवासीय राजदूत अस्कर बेसिमोभले बुधबार उक्त कार्यालयको उद्घाटन तथा कार्यालय परिसरमा किर्गिज गणतन्त्रको झण्डत्तोलन गरेका छन् ।

किर्गिज सरकारले प्रतिष्ठित निर्माण व्यवसायी रमेश शर्मालाई नेपालका लागि अवैतनिक वाणिज्य दूत नियुक्त गरेपछि वाणिज्य दूतको कार्यालय खुलेको हो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा अवैतनिक किर्गिज वाणिज्य दूत नियुक्ति र वाणिज्य दूतको कार्यालय स्थापनालाई दुई मुलुकबीचको जनस्तरीय सम्बन्ध विस्तारमा नयाँ थालनी भएको बताएका थिए । दुवै मुलुक जलवायु परिवर्तनका जोखिमबाट असुरक्षित रहेकोले यो लगायत अन्य साझा हितको क्षेत्रमा सहकार्य गर्न सकिने भन्दै उनले यसमा नेपाल सरकार सधैं तत्पर रहेको बताएका थिए ।

नेपालका लागि किर्गिज गणतन्त्रका गैरआवासीय राजदूत बेसिमोभले दुई मुलुकबीचको सुमधुर सम्बन्ध तथा आर्थिक र जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ बनाउने सन्दर्भमा यो महत्वपूर्ण कदम भएको बताए ।

किर्गिज गणतन्त्रका नवनियुक्त अवैतनिक वाणिज्य दूत रमेश शर्माले आफूलाई विश्वास गरेकोमा किर्गिज सरकारलाई र उक्त नियुक्तिलाई अनुमोदन गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए । दुई मुलुकबीचको समानताले आपसी सहकार्यको अवसर प्रदान गर्ने भन्दै उनले द्विपक्षीय व्यापार र लगानीमा सहकार्य गर्न सकिने ठूलो सम्भावना रहेको बताएका थिए । किर्गिज गणतन्त्रमा नेपाली वस्तुको निकासी बढाउन किर्गिज सरकाबाट सहयोग प्राप्त हुने विश्वास गर्दै मित्रराष्ट्र किर्गिज गणतन्त्रका लागि नेपाल श्रमिक आपूर्तिको भरपर्दो स्रोत हुनसक्ने उनको भनाई थियो ।

किर्गिजस्तान पनि नेपाल जस्तै भूपरिवेष्ठित मुलुक हो । यसको पूर्वमा चीन उत्तरमा कजाखस्तान, दक्षिणपश्चिममा ताजिकिस्तान र पश्चिममा उज्बेकिस्तान छ । सोभियत संघको पतनसँगै सन् १९९१ मा किर्गिजस्तान स्वतन्त्र भएको थियो । नेपाल र किर्गिज गणतन्त्रबीच सन् १९९३ मा दौत्य सम्बन्ध स्थापना भएको हो । किर्गिजस्तान जलविद्युत्, सुन, रियर अर्थ धातु, कोइला, तेल, प्राकृतिक ग्यास लगायत प्राकृतिक स्रोतमा सम्पन्न मुलुक हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।