‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’


अर्थविज्ञहरूले राज्यको अर्थतन्त्र वृद्धिमा विप्रेषण (रेमिट्यान्स) महत्वपूर्ण भए पनि विकासको दीर्घकालीन माध्यम भने नभएको बताएका छन् ।

फेड्रिक इबर्ट स्टिफ्टुङ्ग (एफइएस) ले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र सामाजिक न्याय’ विषयक कार्यक्रममा विज्ञहरूले यस्तो बताएका हुन् ।a

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख प्राध्यापक कृष्ण आचार्यले रेमिट्यान्स विकासको दीर्घकालीन उपाय नहुने तर्क गर्दै स्वदेशी उत्पादनमा जोड नदिएसम्म विकास नहुने धारणा राखे। “विकास र उत्पादन अन्योन्याश्रित छन् । हामीले अरूबाट ल्याएको भरमा विकास भयो भन्न मिल्दैन, विकास हुन स्वदेशी उत्पादनमा जोड दिनुपर्छ”, उनले भने ।

छलफलमा सहभागी अन्य व्यक्तिले पनि विकास, राज्यको अर्थतन्त्रको अवस्था र सामाजिक न्यायमाथि विमर्श गरेका थिए । त्यसक्रममा मुख्यवक्ता नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा निलम ढुङ्गानाले राज्यको अर्थतन्त्रमा कोभिड– १९ का कारण नकारात्मक असर परे पनि विस्तारै सुधार हुँदै गएको बताए । उनले पछिल्लो राजनीतिक परिवर्तनसँगै नेपालको अर्थतन्त्रमा क्रमिक परिवर्तन आए पनि कोभिड महामारी, भूकम्पजस्ता विपद्ले समस्या सिर्जना गरेको धारणा राखे ।

यस्तै, डा कल्पना खनाल, सरस्वती बहुमुखी क्याम्पसकी सहायक प्राध्यापक जमुना श्रेष्ठलगायतले अर्थतन्त्रको अवस्था र सुधारका विषयमा धारणा राखेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।