नबिल बैंकबाट ‘इन्स्ट्यान्ट गोल्ड लोन’ लिँदा आम्दानी देखाउनु नपर्ने

0
Shares

नबिल बैंकले सुन धितो राखी तुरुन्तै ऋण लिन सकिने ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना सञ्चालनमा ल्याएकोे छ । बैंकले सुन धितो राखी एक घन्टाभित्रै ऋण पाउने गरी यो योजना सञ्चालन गरेको हो ।

यो ऋण योजना अन्तर्गत ऋण लीदा ऋणीले ११.८५ प्रतिशत ब्याज तिर्नु पर्नेछ । बैंकले यो योजना अन्तर्गत अधिकतम १० लाखसम्मको ऋण दिने जनाएको छ । उक्त ऋण योजनामा आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टा मात्रै भएकाले आपतकालिन अवस्थाका लागि समेत सहयोगी बन्न सक्ने बैंकले दाबी गरेको छ । त्यस्तै सुनको लागि निःशुल्क बिमाको व्यवस्था रहेकोले यो अन्य लोन भन्दा फरक र प्रभावकारी रहेको बैंकले जनाएको छ ।

व्यक्तिको आम्दानी प्रमाणित गर्नुपर्ने झन्झटिलो पक्रियालाई यो ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजनाले समाधान गर्ने विश्वास बैंकले लिएको छ । बैंकले आम्दानीका आधारमा नभई सुन वा गरगहना लगेर बैंकमा जाँदा त्यसको भ्यालु गरेर तत्काल ऋण प्रदान गर्ने जनाएको छ । गोल्ड टेस्टरले मूल्याङकन गरेर ६० प्रतिशतसम्म ऋण दिने गरेको बैंकले जनाएको छ ।

ग्राहकले गोल्ड लोन लिएको एक वर्षसम्म साँवा व्याज भुक्तानी गरेर आफ्नो धितोमा रहेको सुन फिर्ता लैजान सक्ने बैंकले जनाएको छ । एक वर्षभित्र सावाँ व्याज भुक्तानी गर्न नसकिएमा नविकरण गर्न पनि सकिन्छ । यदि ऋणीलाई तोकिएको समयभन्दा छिट्दै सावाँ व्याज भुक्तानी गर्नु परेमा पनि यो सुविधा पनि उपलब्ध रहेको बैंकले जनाएको छ ।

गोल्ड लोन लिने तरिका

कर्जाको झन्झटिलो प्रक्रियाबाट आजित भएका ग्राहकलाई नबिल बैंकले एकदमै सहज तरिकाबाट लोन दिने भएको छ । यसका लागि जसको नामबाट लोन लिने हो स्वयम् उपस्थित भई नागरिकता र फोटो बाटै लोन लिन सकिन्छ । नबिल बैंकबाट गोल्ड लोन लिन चाहने ग्राहकहरूको बैंकमा खाता भने अनिवार्य हुनुपर्ने छ।

कहाँ – कहाँबाट लिन सकिन्छ लोन ?

नबिलले तत्कालको लागि नेपाल भर ८ वटा शाखाबाट यो सेवा दिने जनाएको छ। जसमा उपत्यका भित्रका ग्राहकहरूका लागि कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट यो योजना अन्तर्गतको कर्जा लिन सकिन्छ । उपत्यका बाहिरका ग्राहकका लागि धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगन्ज (भानुभक्त चोक), फिदिम र पोखराको चिप्लेढुङ्गा शाखाबाट सुन कर्जा लिन सकिन्छ ।

सुन कर्जाको पोर्टफोलियोलाई बढाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । गोल्ड लोनको प्रभावकारिता बढिरहेकाले थप १२ शाखा थप गरेर २० शाखा मार्फत गोल्ड लोन सकिने बैंकले जनाएको छ ।

अन्य बैंक भन्दा फरक के छ ?

नबिल बैंकको ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना अन्य बैंकहरुको लोन भन्दा निकै फरक र आकर्षक छ । सुरक्षाका हिसाबले पनि राम्रो र ब्याजदर पनि कम भएकोले यो योजना अन्य बैंकहरुसँग तुलना गर्नै नमिल्ने बैंकको दाबी छ । आवश्यक परेको खण्ड एक घण्टाभित्र लोन दिन सक्ने भएकोले यो अन्य भन्दा बिल्कुलै फरक रहेको बताइएको छ ।

कसरी सुरु भयो नबिलमा गोल्ड लोनको सेवा?

२०७८ वैशाख १७ गते नबिल बैंक र युनाइटेड फाइनान्स लिमिटेडबीच गाभिने सम्झौता भयो । दुई संस्था आपसमा गाभीइ सकेपछि तत्कालीन युनाइटेड फाइनान्सले गोल्ड लोन प्रदान गरिरहेको थियो । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गरिसकेपछि गोल्ड लोनलाई निरन्तरता दिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।