केन्द्रीय बैंकले एक खर्ब तरलता खिचेपछि ब्याजदर ३ प्रतिशत माथि

0
Shares

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको एक खर्ब रुपैयाँ अधिक तरलता खिचेपछि त्यसको प्रभाव ब्याजदरमा देखिएको छ । केन्द्रीय बैंकले पछिल्लो २ दिनमा ७६ अर्ब तरलता खिचेपछि निक्षेप संकलन उपकरणको ब्याजदर पनि ३ प्रतिशत भन्दा माथि पुगेको हो ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीबाट यो साताको मंगलबार १० अर्ब, बिहीबार ५० अर्ब र शुक्रबार ३० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत खिच्यो । त्यसका साथै यो साताको बुधबार स्थायी निक्षेप सुविधा मार्फत १५ अर्ब २० करोड रुपैयाँ तरलता खिचेको छ। यो साता केन्द्रीय बैंकले मंगलबार र शुक्रबार जारी गरेको निक्षेप संकलन उपकरण ७ दिन अवधिको हो भने बिहीबारको १४ दिनमा परिपक्क हुने वित्तीय उपकरण हो । तर, स्थायी निक्षेप सुविधाको अवधि घने ४ दिन मात्र हो । शुक्रबारको निक्षेप संकलन पनि केन्द्रीय बैंकमा वित्तीय प्रणालीको एक खर्ब एक अर्ब बक्यौता रहेको छ ।

केन्द्रीय बैंकले अल्पकालिन ब्याजदर अर्थात अन्तर बैंक दर तथा ब्याजदर करिडोरको तल्लो सीमालाइ ३ प्रतिशतको वरीपरी राख्ने प्रयास गर्दै आएको छ । सो अनुसार केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मात्रै भन्दा पनि स्थायी निक्षेपको सुविधा पनि अभ्यासमा ल्यायो ।

तर, स्थायी निक्षेप ४ दिन अवधिमा लागि सातामा २ पटक अर्थात आइतबार र बुधबार मात्रै लिन सकिने व्यव्सथा गर्यो । उक्त अभ्यासले अन्तर बैंक दरलाई ब्याजदर करिडोरको तल्लो सीमा वरीपरी राख्न प्रभावकारी नभएपछि केन्द्रीय बैंकले बेला बेला निक्षेप संकलन उपकरण पनि बोलकबोल गर्नु परेको अवस्था छ । स्थायी निक्षेपले वित्तीय प्रणालीको तरलता खिच्ने र अन्तर बैंक दरलाई ३ प्रतिशतको हाराहारीमा राख्न नसकेपछि त्यसलाई प्रभावकारी बनाउन पुनरावलोकन गर्ने पक्षमा राष्ट्र बैंक पुगेको छ ।

स्थायी निक्षेपले काम नगरेपछि केन्द्रीय बैंक यो सातामा मात्र ३ पटक निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्नु प्रयो । निक्षेप उपकरण मार्फत तरलता खिच्दा ब्याजदर पनि प्रतिस्पर्धाबाट निर्धारण हुन्छ । त्यसैले बैंकहरुले ३ प्रतिशत भनदा धेरै ब्याज पाउन सक्ने सम्भावना पनि रहन्छ । तर, स्थायी निक्षेपमा भने ३ प्रतिशत फिक्स छ ।

निक्षेप उपकरण मार्फत तरलता खिच्दा ब्याजदर पनि क्रमिक रुपमा बढेको छ । यो साताको मंगलबार, बिहीबार र शुक्रबार तीनै दिन निक्षेप संकलनको ब्याजदर बढेको छ । मंगलबारको निक्षेप संकलनको औसत ब्याजदर ३.०१६४, बिहीबार २.८४६३ र शुक्रबार ३.०२७५ प्रतिशत कायम भएको छ ।

बिहीबारको ५० अर्बको निक्षेप संकलनले वित्तीय प्रणालीको अधिक तरलता व्यव्सथापन गर्न नसकेपछि केन्द्रीय बैंकले शुक्रबार ३० अर्बको लिएको छ । शुक्रबार बैंक तथा वित्तीय संस्थाले ३३ अर्ब २० करोड रुपैयाँ निक्षेप केन्द्रीय बैंकलाई दिन तयार भएका थिए । उक्त निक्षेपका लागि बैंक वित्तीय संस्थाले माग गरेको ब्याजदर अधिकतम ३.३२ र न्यूनतम २.७५ प्रतिशत माग गरेको केन्द्रीय बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।