काठमाण्डौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि खाना तथा हस्तकला मेला सुरू भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाण्डौं महानगरपालिका वडा नं २६ स्थित सञ्चयकोष अगाडि सडकमा खाना तथा हस्तकला मेला सुरू भएको हो ।
परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि एकदिने सडक खाना तथा हस्तकला मेला आयोजना गरिएको बताए । बिहान १० बजेदेखि सुरु भएको मेला राति १० बजेसम्म सञ्चालन हुनेछ । मेलामा विभिन्न क्षेत्रका दुई दर्जनभन्दा बढी स्टल राखिएका छन् ।
मेलामा नेपाली हस्तकलाका सामग्री, नेचुरल फाइवरबाट बनेका सामग्री, गार्मेन्ट, कटन, शिल्क, पश्मिनाका कपडा तथा सल, ज्वेलरी, खाना, पेय पदार्थलगायत राखिएका छन् ।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (विमल) धमलाले मेलाबाट नेपाली संस्कृतिको जीवन्त संसार अन्वेषण गर्न सकिने बताए । उनले मेलामा ठमेलभित्रका हस्तकला व्यवसायी र होटल तथा रेष्टुरेन्टले स्टल राखेका छन् । मेलाका अवसरमा बृहत् सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ ।
पछिल्लो समय सुरक्षा निकायसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुला गरेको छ । जसकारण ठमेल र दरबारमार्ग क्षेत्रको आर्थिक गतिविधिसमेत चलायमान हुँदै गएको धमलाको भनाइ छ । रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया