मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा


मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०८०\८१ को आठ महिनामा ५६ ट्रक, आठ सय ३४ कार÷ जीप, ५० ट्याक्टर र दश मोटरसाइकल गरी सवारीचालक कारबाहीमा परेका हुन् ।

प्रहरी नायब उपरीक्षक एवम् प्रमुख नरेशकुमार सिंहले कारबाहीबाट नौँ लाख ९३ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यसमध्ये ट्रक कारबाहीबाट ५१ हजार रुपैयाँ , कार जीपबाट आठ लाख २९ हजार पाँच सय रुपैयाँ, ट्याक्टर कारबाहीबाट ५२ हजार रुपैयाँ, मोटरसाइकल कारबाहीबाट सात हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए ।

चालु आवको साउनमा ८० सवारीचालकबाट ८१ हजार पाँच सय रुपैयाँ , भदौमा ६७ बाट ६५ हजार रुपैयाँ, असोजमा एक सय ४५ बाट एक लाख ४८ हजार पाँच सय रुपैयाँ र कात्तिकमा दुई सय ९१ रुपैयाँ सवारीचालक कारबाहीबाट दुई लाख ९५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै मङ्सिरमा एक सय ७५ सवारीचालकबाट एक लाख ६६ हजार रुपैयाँ , पुसमा ४३ बाट ३८ हजार पाँच सय रुपैयाँ , माघमा १५ बाट ११ हजार पाँच सय रुपैयाँ, फागुनमा ४२ बाट ३४ हजार रुपैयाँ र चैतमा ९२ सवारीचालक कारबाहीमा परेकाले ९९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरीले जनाएको छ ।

मनाङमा कम सवारीसाधन सञ्चालन हुने गरे पनि कानुनी तथा ट्राफिक नियम पालना नगर्दा कारबाहीमा पर्ने गरेका छन् । त्यसैले ट्राफिक नियमको पालना गर्न जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको छ ।

समय समयमा ट्राफिक नियमको पालना गराउने उद्देश्यले विद्यालयस्तरीय कार्यक्रम तथा स्थानीयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको प्रमुख सिंहले बताए । उनले भने,“मनाङजस्तो विकट ठाउँमा सवारी कारबाही गर्न नपर्ने गरी ट्राफिक नियमको पालना गराउनमा प्रहरी लागिपरेको छ । यसलाई थप व्यवस्थित गर्दै लैजाने छौँ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।