छ करोड ३७ लाखमा मुस्ताङको लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण


गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । पुल निर्माणपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए ।

नाम्डोक खोलामा ५० मिटर लामो मोटरेबल पुल निर्माण गर्न मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते छ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले हस्तान्तरणको चरणमा रहेको पुलमा सवारीसाधन सञ्चालन भएका बताए ।

दुई सय दुई किलोमिटर बेनी–जोमसोम कोरला सडकमा नाम्डोक खोलासहित थप छवटा स्थानमा पुल निर्माण भएको छन् । बेनी–जोमसोम कोरला आयोजनाले पाँचवटा पुल निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग ३१ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

नाम्डोक, लोमान्थाङ, किम्लिङ र भर्मा खोलाको पुल निर्माण गर्न मुक्तिनाथ–अमित जेभीले २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । बीस मिटर लामो लोमान्थाङ खोलाको पुुलको लागत चार करोड ६८ लाख दुई हजार छ सय ३८ रुपैयाँ, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत छ करोड ३० लाख रुपैयाँ र ८० मिटर लम्बाइको भर्माखोला पुलको लागत छ करोड ८५ लाख रुपैयाँ हो ।

कालिका–गजुरमुखी जेभीले २०७६ साल चैतमा सात करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल पनि निर्माण पूरा भएको छ । सडक विभागले बिओकेआई÷हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख ६८ लाख चार सय ७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा ७० मिटर लामो डबल स्पाम भएको मोटरेबल पुल पनि सम्पन्न भएको छ ।

बेनी–जोमसोम–कोरला सडक योजना मार्फत १३ वटा पक्की पुल र तीनवटा बेलिब्रिज निर्माण भएका छन् । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङखोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो ।

विभागको पुल महाशाखाका अनुसार म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०–७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोमस्थित कालीगण्डकीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो । अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङखोलामा बेलिब्रिज निर्माण भएको छ । थासाङ गाउँपालिकाको सेतो खोलामा मोटरेबल पुल निर्माण थालिएको छ । सात ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ ।

पर्वतको मालढुुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३\७४ देखि सुुरु भएको योजनाको हालसम्म ८२ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख धु्रवकुमार झाले बताए । छ खण्डमा ८५ किलोमिटर ग्राभेल र तीन खण्डमा विभक्त २२ किलोमिटरमा कालोपत्र भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।