कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी


कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । धनुषा जिल्ला अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएपछि पक्राउ पुर्जी जारी गरिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयमा सिरोहियाविरुद्ध नागरिकता दुरुपयोगको उजुरी परेको थियो । सोहि आधारमा जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको हो।

यता, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयले सदनमा प्रवेश पाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्री बन्द्री पाण्डेले आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही गर्न खोजे आफूहरू मौन नबस्ने चेतावनी दिए ।

उनले भने, ‘कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको मैले सुनेको छु । कानूनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ । तर, आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने कांग्रेसले राणालाई सहेन, राजालाई सहेन । कसैलाई पनि सहँदैन ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।