दश महिनामा नेपालीले २७ करोडको पान खाएर थुके, पानै २९ करोड राजश्व संकलन

0
Shares

नेपालीहरुले चालु आर्थिक वर्ष २०८०/८१ को दश महिना अवधिमा नेपालीहरुले २७ करोड मूल्यको पान खाएर थुकेका छन् । यो औपचारिक रूपमा भन्सार तिरेर आयात भएको तथ्याङ्क हो । भारतसँग खुला सीमाका कारण नेपालमा ठूलो अनुपातमा औपचारिक आयातभन्दा भन्सार छलेर पानको पात तथा पान बनाउन प्रयोग हुने मसलाहरु आयात हुने गरेको छन् ।

भन्सार विभाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि बैशाख मसान्तसम्ममा मात्रै २७ करोड १३ लाख १९ हजार रुपैयाँ बराबरको २ लाख १८ हजार ४०० केजी पानको पात तथा मसला आयात भएको छ । जसमध्ये ८३ हजार २९५ किलो पानको पात आयतामा २ करोड ७ लाख २८ हजार रुपैयाँ खर्च भएको छ भने पान बनाउन प्रयोग हुने मसला (सूर्ती बाहेक) १ लाख ३५ हजार १०५ किलोका लागि २५ कोड ५ लाख ९१ हजार रुपैयाँ खर्च भएको हो ।

अघिल्लो आवको दश महीना अवधिमा २६ करोड ६७ लाख ४१ हजार रुपैयाँ बराबरको २ लाख ३१ हजार ६४८ केजी पानको पात तथा मसला आयात भएको थियो । समीक्षा अवधिमा पानको पातको आयात घटेको छ भने पानको पात बाहेक पानको उपयोग हुने मसलाहरुको आयत भने बढेको छ । गत आवको दश महीना अवधिमा १ लाख १३३ केजी पाजको पातका लागि २ करोड १५ लाख २ हजार र पान बनाउन प्रयोग हुने मसला (सूर्ती बाहेक) १ लाख ३१ हजार २१५ केजीका लागि २४ करोड ५२ लाख ४० हजार रुपैयाँ बाहिरिएको थियो ।

गत आव २०७९/८० को दश महिनाको तुलनामा पान तथा पान बनाउन प्रयोग हुने मसालको औपचारिक आयात ४५ लाख ७८ हजार रुपेयाँ अर्थात १.७२% ले बढेको हो । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा भने ३ करोड १४ लाख ८७ हजार रुपैयाँ बराबरको १ लाख ५३ हजार १०३ किलो पानको पात आयात भएको थियो ।साे आर्थिक वर्षको तुलनामा पछिल्ला २ वर्षमा पानकाे पातकाे खपत घटेकाे भएपनि पान मसलाको आयात भने बढेकाे पाइएकाे छ ।

नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेशबाट पानको पत्ता आयात हुन्छ । एउटा पानको मूल्य न्यूनतम २५ देखि १५० रूपैयाँसम्म हुने गरेको पान व्यवसायीहरू बताउँछन् । पानको पात, पान मसाला बाहेक कत्था र अन्य सामाग्री समेतको तथ्याङ्क जोड्ने हो भने योभन्दा धेरै बढी आयात हुने गरेको छ । नेपाल भारत खुला भन्सार नाका रहेका कारण पानसँग सम्बन्धीत वस्तुहरु भन्सार छलेर धेरै आयात हुने गरेको पान बिक्रेताहरू नै स्वीकार गर्छन् । पानको पात, कत्था, विभिन्न खालका पान मसाला, चुना र नरिवल, सुपारी समेतको हिसाब गर्ने हो भने वार्षिक ३५ करोड रुपैयाँ बढीको पान खाएर नेपालीले थुक्ने गरेको पान बिक्रेताहरु बताउँछन् ।

चालु आर्थिक वर्षको दश महीना अवधिमा पान र पान मसलाको आयातबाट मात्रै सरकारले २६ करोड ३० लाख ३१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जसमा पानको पातबाट ६८ लाख १ हजार रुपैयाँ र पान मसलाको आयातबाट २८ करोड ३ लाख ३३ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा सरकारले पानको पातबाट ६६ लाख २६ हजार र पान मसलाको आयातबाट २६ करोड ३० लाख ३१ हजार गरी कुल २६ करोड ९६ लाख ५६ हजार रुपैयाँ रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

यस्तै चालु आवको दश महिना अवधिमा ४२ लाख ७० हजार रुपैयाँ बराबरको ३ हजार १० किलो बराबरको कत्था आयात भएको छ । कत्था आयातबाट १६ लाख ५१ हजार रुपैयाँ राजश्व संकलन भएको भन्सार विभागको तथ्याङ्क छ । अघिल्लो आवको सोही अवधिमा ६७ लाख ४१ हजार रुपैयाँ बराबरको ४ हजार ८१० किलो कत्था आयात हुँदा २४ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै पानको पात भारतबाट मात्रै आयात हुने गरेको भएपनि कत्था भने नेपालबाट भारतमा समेत ठूलो परिमाणमा निकासी हुने गरेको छ । बैशाखसम्म नेपालबाट भारतमा १ अर्ब ५५ करोड ३ लाख ४९ हजार रुपैयाँ बराबरको १८ लाख ३८ हजार ४८० किलो कत्था निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । गत आवको दश महीनामा १ अर्ब १२ करोड ८७ लाख ५८ हजार रुपैयाँ बराबरको १३ लाख ३२ हजार ३४० किलो कत्था निर्यात भएको थियो ।

विभिन्न खालका पान मसाला हालेर बनाइएको पान खाएर सडकदेखि जहाँसुकै रातो हुने गरि पिच्च पिच्च थुक्ने गर्दा जहाँसुकै रातो हुने भई सोन्दर्यमा समेत प्रभाव पर्दै आइरहेको छ । नेपालका तराई क्षेत्रमा अधिक प्रचलनमा रहने पान खाने संस्कार पछिल्लो समय काठमाडौं सहित केही पहाडी र केही हिमाली जिल्लामा समेत फैलिएको छ ।

सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, महोत्तरी सहितका विभिन्न जिल्लाका सडकदेखि सरकारी कार्यालयहरूको भित्तासम्म जहाँसुकै पान खाएर रातो हुने गरि पिच्च पिच्च थुक्ने क्रम बढेपछि कतिपय सरकारी कार्यालयहरू कार्यालयक भित्तामा नथुकुन् भनेर भित्तामा देवीदेवताका फोटो नै टाँस्ने गरिएको थियो । सिरहा, सप्तरी तथा धनुषादेखि बाँकेसम्मका अधिकांश जिल्लामा औसत वार्षिक ८० लाख ओटा पात खपत हुने बताइन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ