मुद्रण विभागका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सरल कर्जा पाउने

0
Shares

राष्ट्रिय वाणिज्य बैंकले मुद्रण विभागका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मुद्रण विभागबीच मुद्रण विभागका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सहमति भएको छ ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका का।मु।प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र मुद्रण विभागका महनिर्देशक रेखा कँडेलले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात मुद्रण विभागमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई विभागको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही सरल कर्जा प्रवाह गर्ने छ ।

बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने बताएको छ । हाल बैंकको आधार दर ७.३५ प्रतिशत रहेको छ । सम्झौता अनुसार विभागका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

उक्त अवसरमा विभागका वरिष्ठ मुद्रण अधिकृत पद्यराज पाठक, बैंकका विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, सिंहदरबार परिसर शाखाका शाखा प्रबन्धक अनिश रायमाझी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०८ वटा एटीएम र ७१ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।