एक खर्ब थपियो ऋण दायित्व, एक नेपालीको थाप्लोमा ८२ हजारबढी

0
Shares

चालू आर्थिक वर्षको दश महीना अवधि (२०८० साउनदेखि २०८१ बैशाखसम्म) कुल ९८ अर्ब ७ करोड ९२ लाख रुपैयाँले ऋण दायित्व थपिएको छ ।  चालु आर्थिक वर्ष सुरु हुँदा २०८० साउन १ गते मुलुकको ऋण दायित्व २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रुपैयाँमा २०८१ बैशाख मसान्तसम्मम आइपुग्दा बढेर कुल २३ खर्ब ९७ अर्ब ४३ करोड १६ लाख रुपैयाँ पुगेको हो । चैत्र महीनाको तुलनामा बैशाखमा सरकारले ११ अर्ब ६४ करोड रुपैयाँ थप सार्वजनिक ऋण लिएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले बैशाख मसान्तसम्म१ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको आन्तरिक र ७३ अर्ब ६३ करोड बाह्य गरी कुल २ खर्ब ६४ अर्ब ६३ करोड ३६ लाख रुपैयाँ ऋण उठाएको छ । राजस्व संकलन लक्ष्यअनुसार नहुँदा सरकारले आन्तरिक स्रोतमा ऋण लिएरै खर्च धानिरहेको छ । बाह्य ऋण पनि न्यून आइरहेका कारण बजेट परिचालनमा आन्तरिक ऋणकै भरथेग ज्यादा छ ।

यस्तै चालु आर्थिक वर्षको दश महिनामा सरकारले १ खर्ब ३५ अर्ब ६२ करोड ३३ लाख आन्तरिक ऋण र ३० अर्ब ९३ करोड ११ लाख रुपैयाँ बाह्य ऋण गरी कुल १ खर्ब ६३ अर्ब ५४ करोड ४४ लाख रुपैयाँ साँवाब्याज भुक्तानी गरेको छ । चालु आवको दश महीनाको ऋण संकलन र भुक्तानी हेर्ने हो भने आन्तरिक ऋण भूक्तानी भन्दा ५५ अर्ब ३७ करोड ६७ लाख र बाह्य ऋण भुक्तानी ४२ अर्ब ७० करोड २५ लाख रुपैयाँ धेरै हो । अर्थात उठेको आन्तरिक ऋणमध्ये ७१% र बाह्यतर्फ ४२% रकम ऋण तिर्नकै लागि खपतहुने गरेको तथ्याङ्क छ । जसअनुसार सार्वजनिक ऋण तिर्नकै लागि सरकारले ऋण लिँदै आएको देखिएको हो ।

मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा कुल राष्ट्रिय ऋण दायित्व करिब ४२.०२ प्रतिशत बराबर पुगेको छ । जसमा आन्तरिक ऋण जिडिपीको २०.७६ र बाह्य २१.२६ प्रतिशत रहेको छ । जिडिपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पूँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्न सक्ने भन्दै सार्वजनिक ऋण बढेकामा आलोचना हुने गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ४० अर्ब आन्तरिक र १ खर्ब १२ अर्ब ७५ करोड गरी कुल ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । वैशाख मसान्तसम्म भने २ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ मात्रै ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५८.४५ प्रतिशत छ । कार्यालयकाअनुसार सरकारले वार्षिक लक्ष्यअनुसार आन्तरिकतर्फ ४९ अर्ब र बाह्यतर्फ १ खर्ब ३९ अर्ब ११ करोड ६४ लाख ऋण अझै प्राप्त गर्न बाँकी छ । वार्षिक लक्ष्यको आन्तरिक ऋण प्राप्ती ७९.५८ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ३४.६१ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म सरकारले १ खर्ब ९४ अर्ब ६८ करोड ४ लाख रुपैयाँ आन्तरिक र ३८ अर्ब ५९ करोड ४६ लाख रुपैयाँ बाह्य गरी कुल २ खर्ब ३३ अर्ब २७ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ७०.५७ प्रतिशत हो । ऋण भुक्तानीका लागि यस वर्ष ३ खर्ब ३० अर्ब ५६ करोड ३३ लाख वार्षिक बजेट विनियोजन भएको थियो ।

पछिल्लो एक दशकमा सार्वजनिक ऋण चार गुणाले बढेको देखिन्छ । आर्थिक वर्ष २०७०–७१ मा नेपालले तिर्न बाँकी ऋण ५ खर्ब ५३ अर्ब ५० करोड ७० लाख बराबर थियो भने उक्त वर्ष जिडिपीमा सार्वजनिक ऋणको अनुपात २८.५१ प्रतिशत बराबर थियो । त्यस्तै, पछिल्लो पाँच वर्षमा मात्र नेपालको सार्वजकि ऋण दोब्बरभन्दा बढीले बढेको छ । आर्थिक वर्ष २०७३–७४ मा नेपालको सार्वजनिक ऋण ६ खर्ब ९७ अर्ब ६८ करोड बराबर थियो । भूकम्प पछिको पुनःसंरचनाका लागि नेपालले ठूलो मात्रामा ऋण उठाएपछि आर्थिक वर्ष २०७४–७५ सम्ममा ९ खर्ब १७ अर्ब ३१ करोड पुग्यो । त्यसपछि आर्थिक वर्ष २०७५–७६ मा १० खर्ब ४८ अर्ब १५ करोड, आर्थिक वर्ष २०७६–७७ मा १४ खर्ब ३३ अर्ब ४० करोड, आर्थिक वर्ष २०७७–७८ मा १७ खर्ब ३७ अर्ब ६३ करोड र आर्थिक वर्ष २०७८–७९ सम्ममा २० खर्ब १३ अर्ब २९ करोड बराबर पुगेको थियो ।

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को घाटा बजेट पूर्ति गर्नका लागि थप ४ खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये २ खर्ब ४० अर्ब आन्तरिक र २ खर्ब १२ अर्ब ७५ करोड बाह्य ऋण उठाउने सरकारको लक्ष्य छ । सरकारी राजस्व सङ्कलनको तुलनामा ठूलो आकारको बजेट ल्याउँदा सरकारले आन्तरिक र बाह्य ऋणलाई बजेट स्रोतका रुपमका देखाउने गरेको छ ।

प्रतिव्यक्ति ऋण ८२ हजार धेरै पुग्याे

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार बैशाख मसान्तसम्ममा एक जना नेपालीको थाप्लोमा कुल ऋणको दायित्व ८२ हजार २०३ रुपैयाँ पुगेको छ । बैशाखसम्मको मुलुकको कुल २३ खर्ब ९७ अर्ब ४३ करोड १६ लाख रुपैयाँ रहेको छ । यसरी, कुल सार्वजनिक ऋणलाई प्रतिव्यक्ति भाग लगाउँदा ८२ हजार २०० रुपैयाँभन्दा बढी ऋण पर्न आउने देखिएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको जनगणना २०७८ अनुसार नेपालको कुल जनसंङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । यस आधारमा लाई कुल जनसङ्ख्याले भाग गर्दा प्रतिव्यक्ति ऋणको भार ८२ हजार २०३ रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।