‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै


कैलालीको मध्य क्षेत्र घोडाघोडी र पहलमानपुर क्षेत्रका किसान ‘आलुचिप्स’ बनाउन उपयुक्त हुने जातको आलु खेती गरेर आम्दानी वृद्धि गर्न थालेका छन् । उत्पादित यो आलु बिक्री गर्न बजारको समस्या नभई उचित मूल्य पनि पाउन थालेपछि किसान यो खेती गरेर आम्दानी वृद्धि गर्न थालेका हुन् । यो जातको आलुको खेतीमा चार हजारभन्दा बढी कृषक संलग्न छन् ।

पहलमानपुरका कृषक शेरबहादुर चौधरीले आफूले पाँच कठ्ठा जग्गामा गरेको आलुखेतीबाट झण्डै २८ क्वीन्टल आलु उत्पादन भएको बताए । आलुको चिप्स बनाउन इन्नोभेटर र सजिता जातको आलु उपयुक्त हुने गरेको बताइएको छ । उत्पादित आलु बिक्रीका लागि बुटवलमा रहेको आलु चिप्स उत्पादन गर्ने कम्पनीसँग कृषकले सम्झौता गरेका छन् । भारतको लुधियानाबाट यो आलुको बीउ आयात गर्ने गरिएको छ । बीउका लागि सरकारले किसानलाई ५० प्रतिशत अनुदानको सहयोग उपलब्ध गराएको छ ।

किसान रामबहादुर रावतले कम्पनीसँग उत्पादित आलु बजारको मूल्यभन्दा प्रतिकिलो रु दुई बढी मूल्य दिएर खरिद गरिदिने सम्झौता भएको बताए । हिँउदेयाममा गरिने यो आलुखेतीमा क्रान्ति ल्याउन आलुबारीमा किसानले हरियो झण्डा टाँग्ने गरेका छन् । रावतले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रमको पहिचानका साथै आलु खेतीमा क्रान्ति ल्याउने सन्देश दिनका लागि आलुबालीमा हरियो झण्डा फहराउने गरिएको बताए ।।

घोडाघोडी नगरपालिकाको पहलमानपुर गाउँलाई आलु उत्पादनको पकेट क्षेत्र बनाइएको छ । यो गाउँमा मात्रै आलु खेती क्षेत्र विस्तार भई हिउँदेयाममा ८० बिघा क्षेत्रफल पुगेको बताइएको छ ।

चालु वर्षमा सुरु भएको यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुन लागेको छ । जिल्लाभरी छ हजार हेक्टरमा आलु खेती हुने गरेकोमा वार्षिक उत्पादन झण्डै ९० हजार टन हुन्छ । आलु खेती गरिने क्षेत्रफलमध्ये डेढ हजार हेक्टरमा जिल्लाको विषेश पहिचान बोकेको ‘थारु आलु’को उत्पादन हुने गर्छ । किसानले खायनका लागि यो रैथाने जातको थारु आलुको खेती पनि गर्ने गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।