भद्रपुर नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, पूँजीगत खर्च घट्यो


भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ८६ लाख ६६ हजार सात सय ७४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा एक करोड १६ लाख ७२ हजार आठ सय २९ रुपैयाँ रकम बढी राजस्व सङ्कलन गरेको सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले बताए ।

अनुुसार गत आवको १० महिनामा भद्रपुर नगरपालिकाले तीन करोड ६९ लाख ९३ हजार नौ सय ४४ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । वैशाख मसान्तसम्म ८८ दशमलव ४९ प्रतिशत राजस्व सङ्कलन गरेको हो । “राजस्व सङ्कलनको प्रकृति हेर्दा नगरपालिकाले राखेको राजस्व सङ्कलनको लक्ष्य सहजै भेट्न सकिन्छ,” सूचना अधिकारी पोख्रेलले भने ।

पूँजीगत खर्च घट्यो

भद्रपुर नगरपालिकाले चालु आवको १० महिनामा ५१ करोड ७० लाख ५४ हजार छ सय ६९ रुपैयाँ खर्च गरेको छ । नगरपालिकाको कुल बजेटको ५२ दशमलव ६३ प्रतिशत खर्च गर्दा पूँजीगतको तुलनामा चालुतर्फ बढी खर्च भएको छ । भद्रपुर नगरपालिकाको चालु आवको १० महिनामा पूँजीगत तर्फ ३७ दशमलव ६४ प्रतिशत खर्च भएको छ । चालुतर्फ ६३ दशमलव ०२ प्रतिशत खर्च भएको नगरपालिकाका सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले जानकारी दिए ।

भद्रपुर नगरपालिकाको चालु आवको बजेट संशोधनसहित ९८ करोड २३ लाख ४६ हजार रुपैयाँ रहेको छ । चालु आवको १० महिनामा गत आवको सोही अवधिको तुलनामा समग्रमा खर्च प्रतिशत दुई दशमलव ११ प्रतिशतले बढे पनि पूँजीगततर्फ एक प्रतिशतले खर्च घटेको नगरपालिकाले जनाएको छ । गत आवको सोही अवधिमा खर्च प्रतिशत ५० दशमलव ५२ रहेको थियो । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।