महानगरले गेटमा धुलो खन्याइदिएपछि सडक डिभिजनले भन्यो –’महानगरको अराजक व्यवहार सह्य हुँदैन’


काठमाण्डौं महानगरपालिकाले कार्यालय अगाडि नै फोहरको धूलो खन्याइदिएपछि सडक विभागअन्तर्गतको सडक डिभिजन काठमाण्डौंले उक्त व्यवहार सह्य नहुने बताएको छ ।

विभागले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाइ भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्नसमेत बाध्य हुने चेतावनी दिएको हो ।

महानगरपालिकाका मेयर बालेन शाहले शनिबार साँझ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई सम्बोधन गर्दै ‘एक ट्रक धुलो उपहार’ भन्दै विभागको कार्यालय अघि धुलो खन्याएका थिए ।

विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलङ्कीदेखि महाराजगन्जसम्म रिङ रोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको उनको तर्क थियो । यसले गर्दा काठमाडौँ महानगरले अकारण गाली खानु परेको उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका थिए ।

यता, काठमाण्डौ महानगरपालिकाले गेटमा धुलो खसालिदिएको विषयमा सडक डिभिजन कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरपालिकाले हिजो सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा धुलो खन्याएलगत्तै कार्यालयले यस्ता अराजक व्यवहार सह्य नहुने चेतावनी दिएको हो । डिभिजनको गेटमा देशकै ठुलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने डिभिजनको भनाई छ ।

डिभिजनका अनुसार शुक्रवार मात्र काठमाण्डौँ महानगरपालिकाका मेयर तथा यस डिभिजनका डिभिजन प्रमुख बिच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो । साथै यस अघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमति दिइएको समेत जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१।०२।१२ गते शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा विनाअनुमति सडक काटी सडकको कतबलमबचम चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत विनाअनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाइ गरिएको यस किसिमको व्यवहारले कानूनी राज्यको उपहास गरेको ठम्याइ यस सडक डिभिजनको रहेको छ ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।