पर्यटन क्षेत्रको बजेटमा मिश्रित धारणाः ‘विलाशिता कर तथा हवाई टिकटमा लगाएको भ्याट नहटाइनु दु:खद’


मूलुकको अर्थतन्त्र बलियो बनाउन पर्यटनको पनि ठूलो भूमिका हुन्छ । पर्यटकीय सम्पदाको धनी नेपालमा यो क्षेत्रलाई मात्र जोड दिइयो भने मात्र पनि देशको अर्थतन्त्रलाई सुधार गर्न सकिन्छ ।

मङ्गलबार संसदमा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा अर्थमन्त्री बर्षमान पुनले पर्यटन क्षेत्रलार्ई प्राथमिकतामा राख्दै ११ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । बजेटले उड्डयन क्षेत्र विस्तारका लागि ३ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ भने नेपालको पर्यटन पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको छ ।

उनले नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धनका लागि पर्यटन प्रोफाइल तयार गरिने, पर्यटनलाई एकद्वार प्रणालीमा सेवा दिने प्रवर्द्धन मिलाइने बताएका छन् । पर्वतारोहण प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाइने, छिमेकी मुलुक भारत तथा चीन र अन्य मुलुक प्रमुख सहरमा पर्यटकीय पर्यटक लक्षित रोड सो, मेला महोत्सव जस्ता पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने बताए ।

सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने बताए ।उनले नेपालमा विवाहका लागि आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिने बताए । उनले जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हबका रूपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको बताए ।

उनले मे २९ लाई सगरमाथा दिवसलाई विशेष रूपमा मनाइने बताए । उनले भरतपुर विमानस्थलको स्तरोन्नति आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताए । उनले त्यसको लागि ३६ करोड रुपैयाँ विनियोजन गरिने जानकारी दिए ।

तर, सरकारको बजेटले हवाई टिकटको भ्याट नहटाएको भन्दै बजेटबाट सन्तुष्ट नभएको बताउँछन् नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापा । अर्थमन्त्री पुनले गत वर्षदेखि लाग्दै आएको भ्याटलाई निरन्तरता दिनु राम्रो नभएको उनको भनाइ छ ।

पूर्ववर्ती अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८०/८१ को बजेटमा घोषणा गरेर लगाएको हवाई टिकटको भ्याटलाई वर्तमान अर्थमन्त्री पुनले निरन्तरता दिएका हुन्। महतले २०८० जेठ १५ को बजेट भाषणमा हवाई टिकटमा १३ प्रतिशत भ्याट लाग्ने नीति ल्याएका थिए । यसको कार्यान्वयन २०८० असोज १० देखि गरिएको थियो।

यद्यपी नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले प्रधानमन्त्री समक्ष उक्त भ्याटलाई खारेज गर्नुपर्ने माग गर्दै आएको उनले बताए । हवाई टिकटको भ्याट छिट्टै खारेज हुनेमा आफुहरु आशावादी रहेको उनले बताए । उता, पुनले आगामी आर्थिक वर्षमा नेपालमा १६ लाख पर्यटन भित्र्याउने भनी गरेको घोषणा हावादारी रहेको अध्यक्ष थापाको तर्क छ ।

यता, चालु आवको बजेटमा लगाइएको २ प्रतिशत विलाशिता कर तथा हवाई भाडामा लगाइएको १३ प्रतिशत भ्याटबाट नेपाल गन्तव्य झन महँगो हुने भई पर्यटक आगमनमा कमी आउने सन्दर्भमा यस २०८१्८२ को बजेटमा उक्त विषय हटाउने सरकारको आश्वासन तथा विश्वास व्यक्त भएको तर उक्त विषयलाई निरन्तरता दिएको प्रति होटल संघ नेपालको ध्यानाकर्षण गराएकोे छ ।

बजेट समग्रमा राम्रो आएको होटेल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहले बताए । बजेटका पाँचओटा आधारमध्ये पर्यटन पर्नु सकारात्मक रहेको उनको भनाइ छ । उनले बजेटमा पर्यटन गतिविधि बढाउन बुद्ध सर्किटदेखि विवाहका लागि नेपाललाई गन्तव्य मुलुक बनाउनेसम्मका कार्यक्रम पर्नु सबल पक्ष भएको तर्क गरे ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघको हवाई तथा पर्यटन समितिका सभापति अजित बस्नेत (देशबन्धु) ले पर्यटन क्षेत्रमा उत्साह जगाउने किसिमको बजेट आएको बताएका छन् । यद्यपी करका विषयमा उचित सम्बोधन नहुँदा समस्या उस्तै रहने उनको भनाई छ ।

नेपालजस्तो मुलुकमा विमान खरिदगर्दा १३ प्रतिशत भ्याट र हवाई टिकटमा सोही अनुरुप भ्याट लगाईनु ठीक नभएको उनको भनाइ छ । जसका कारण विमान कम्पनीहरुले नयाँ विमान खरिद गर्न सकिरहेका छैनन् । जसले गर्दा पर्यटन क्षेत्रको विकासलाई प्रभाव पारेको उनको तर्क छ ।

“सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटले देशको पर्यटन पूर्वाधार विकासमा ठूलो फड्को मार्ने आशा देखाएको छ,” उनले भने, “त्रिभुवन विमानस्थलको दोस्रो टर्मिनल निर्माण, निजगढको लगानी ढाँचा तयारी सक्ने, निजगढ अन्तरराष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्वतयारीको काम सम्पन्न गर्ने जस्ता घोषणा गरेको छ । यो सकारात्मक पक्ष हो ।”

बजेटमा के के समेटिए ?

छिमेकी मुलुक भारत र चीन सँगै अन्य मुलुकको प्रमुख सहरमा पर्यटक लक्षित रोड, मेला महोत्सव जस्ता पर्यटन प्रवर्द्धन कार्यक्रम संचालन गर्दै सिमावर्ती पर्यटनको समेत विकास गरिने कुरा समेटिएको छ ।

यस्तै धार्मिक पर्यटनको हकमा भने निजी क्षेत्रको सहकार्यमा नेपाल भारत सीमा नाकाबाट पशुपतिनाथ, स्वर्गद्वारी, मुक्तिनाथ दर्शनको लागि यातायात सेवा संचालन गराइने, बुद्ध परिपथ, शिव परिपथ, रामायण परिपथ, किराँत संस्कृति परिपथको मार्ग निर्धारण गरि पर्यटन प्रवर्द्धनको गर्नको लागि समेत सरकारले बजेट छुट्याएको छ।बजेटमा सातै प्रदेश समेटिने गरि चुरे, पहाडी र हिमाली क्षेत्रका प्रमुख गन्तव्य स्थलमा टाकुरा पर्यटकीय गन्तव्य तथा मनोरञ्जन पूर्वाधार सहितका ’इको हिल स्टेसन’ समेत सरकारले निर्माण गर्ने भएको छ।त्यसैगरी बजेटमा पुराना प्रचलनमा रहेका पदमार्गहरुको संरक्षण गर्दै ग्रेट हिमालयन ट्रेल, मुन्धुम ट्रेल र गुरिल्ला ट्रेल लगायतका पर्यटकीय पूर्वाधारका विकासलाई समेत सरकारले प्राथमिकतामा राखेको छ।

सम्भावित जोखिम युक्त क्षेत्रमा भने पर्यटकीय उद्धार केन्द्र स्थापना गरिने कुराहरु समेटिएका छन् । यता भरतपुर विमानस्थल विस्तार आगामी आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने सुर्खेत विमानस्थलको स्तरोन्नति, रोल्पाको बडा चौर, दाङको टारी गाउँ, जुम्ला, विराटनगर, धनगढी र नेपालगञ्ज विमानस्थल स्तरोन्नति गरिने विषय बजेटले समेटेको छ । संचालनमा नरहेका बलेवा, लामिडाँडा, मनाङ, बैतडी, रुम्झाटार लगायत आन्तरिक विमानस्थललाई निजी क्षेत्रको सहकार्यमा प्याराग्लाइडिङ, अल्ट्रालाइट, स्काइ ड्राइभिङ लगायत मनोरञ्जनात्मक साहसिक पर्यटनको रुपमा उपयोग गरिने उल्लेख छ ।

घट्यो बजेटको आकार

पर्यटन क्षेत्रमा गत वर्षको भन्दा यो वर्षको बजेट घटेको छ । सरकारले चालु आवको लागि पर्यटन क्षेत्रतर्फ ११ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेका छन् । जुन गत वर्ष (२०८०/८१) को भन्दा ५ करोड रुपैयाँ कम हो । गत वर्ष पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।