काठमाण्डौं महानगरलाई न्यूरोडको सडक बनाउन दुई दिनको अल्टिमेटम


सडक डिभिजन कार्यालय, काठमाण्डौंले काठमाण्डौं महानगरपालिकालाई न्यूरोडस्थित जुद्ध शालिक–इन्द्रचोक सडक खण्ड दुई दिनभित्र बनाउन निर्देशन दिएको छ ।

संघीय सरकार अन्तरगत रहेको न्युरोड गेटदेखि जुद्ध शालिकसम्मको भागमा महानगरले सवारी साधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न थालेपछि डिभिजनले आपत्ति जनाएको हो ।

महानगरले भत्काएको सडक नबनाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने समेत डिभिजन कार्यालयले बताएको छ। बुधबार डिभिजन प्रमुख नारायणदत्त भण्डारीले काठमाडौं महानगरका नाममा एक पत्र जारी गर्दै भत्काएको सडक दुई दिनभित्र बनाइदिन अनुरोध गरेका हुन्।

यसअघि पनि महानगरलाई उक्त सडक खन्न र भत्काउन रोकेर पुनर्स्थापना गरिदिन भनिएको थियो। उक्त काम सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बर्खिलाप देखिएकाले तुरून्त रोकी सडक यथास्थितिमा पुनर्स्थापना गरिदिन फेरि अनुरोध गरिएको थियो। तर हालसम्म काम नभएको भन्दै डिभिजन कार्यालयले महानगरलाई दुई दिनको समय दिएको हो।

भण्डारीले पठाएको पत्रमा भनिएको छ, ‘सडक यथास्थितिमा पुनस्थापना गरिदिनु हुन भनी मिति २०८१\२\१३ मा पुनः अनुरोध भएकोमा हालसम्म पनि पुनस्थापना भएको देखिएन। नेपालको प्रचलित कानून भन्दा ठूलो कोही नहुने र प्रचलित कानून अक्षरस पालाना गर्नु पर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा तहां महानगरपालिकालाई विदितै छ ।

तसर्थ, तहांबाट भत्काइएको सडक खण्ड २ दिन भित्र पुनस्थापना गरिदिनु हुन अनुरोध छ । अन्यथा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारवाही प्रकृया अगाडी बढाउन व्यहोरा समेत अनुरोध छ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।