बजेटले बढायो सुनको भाउ, एक दिनमै तोलाको दुई हजार तीन सय रुपैयाँ बढ्यो


स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४० हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ ।

तेजाबी सुन बुधबार तोलामा एक लाख ३७ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएकामा आज यो एक लाख ३९ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा दुई हजार दुई सय ५० रुपैयाँले वृद्धि भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा ७० रुपैयाँले वृद्धि भएको छ । बुधबार एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार नौ सय रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैबीच, सुनको भाउमा ५ प्रतिशत भन्सार दर बढाएका कारण सुनको भाउ अझै बढ्ने व्यवसायीहरुले अनुमान गरेका छन् । आगामी आर्थिक वर्ष २०८१\८२ को बजेटमार्फत सुनको भन्सार दर २० प्रतिशत पुऱ्याइएको छ। चालु आवर्षको बजेटमार्फत भन्सार दर ५ प्रतिशत बढाएर १५ प्रतिशत पुऱ्याइएकामा सरकारले फेरि भन्सार ५ प्रतिशत वृद्धि गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेका बेला सरकारले पनि भन्सार वृद्धि गरेकाले सुन महँगिने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। थपिएको भन्सार दरले मात्रै करिब तोलामा ६ हजार रुपैयाँ मूल्यमा असर परेको व्यवसायीहरु बताउँछन् । नेपालमा सुनको मूल्य बढेता पनि २४ घण्टामा अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य १।२ प्रतिशत घटेको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस सुन २ हजार ३३२ दशमलव ०६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ डलर ५९ पैसामा कारोबार भइरहेको छ ।अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३५८ दशमलव ४१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३२ डलर १२ पैसामा कारोबार भएको थियो ।

यसैबीच सरकारले दैनिक ल्याउन पाउने सुनको परिमाण विस्तार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१\८२ को बजेट घोषणा गर्दै उक्त बताएका हुन् । सङ्घीय संसद्मा बजेटका कार्यक्रम पेस गर्दै उनले अहिले कायम रहेको सुनको सीमा विस्तार गर्ने बताए । बजेट मार्फत नयाँ आर्थिक वर्षमा सरकारले यसमा पनि सीमा विस्तार गर्ने बताएको हो । यद्यपी कति परिमाणमा विस्तार गर्ने सम्बन्धमा भने उल्लेख गरिएको छैन ।

हाल दैनिक २० किलोसम्म सुन ल्याउन पाउने व्यवस्था सरकारले गरेको छ । सुन व्यवसायीहरूले सुनको कोटा नपुगेको भनी गुनासो गरेपछि नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ जारी गर्दै सीमा २० किलोसम्म र्पुयाएको थियो । त्यसअघि १० किलो मात्र ल्याउन पाउने व्यवस्था थियो । हाल व्यवसायीहरूले ३० देखि ४० किलोसम्म सुनको माग रहेको बताउने गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।