भन्सार दरमा भएको बृद्धि मुख्य कारण सुनको भाउ तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो


यो साता पनि बिश्व बजारमा सुनको मुल्य उच्च रहेको छ । अमेरिकी डलरको मजवुति कायम रहन नसक्दा र अमेरिकी टेजरीको प्रतिफलमा आएको गिरावट लगायतका कारण सुनको मुल्यमा चाप परेको बिश्लेषकहरुले तर्क गरेका छन्।

विश्व बजारमा साताको चौथो दिन बुधबार साताकै उचाइमा पुगेको मुल्य त्यस पछिका दिनमा भने मत्थर भएको थियो । नेपाली बजारमा भने यो साता सुनको मुल्यले नयाँ उचाई कायम गरेको छ ।

सरकारले आगामी आर्थिक बर्षको बजेट वक्तब्य मार्फत सुनको भन्सार दरमा गरेको बृद्धिका कारण मुल्य बढ्न गई हाल साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार हालसम्मकै उच्च अर्थात प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड राखेको हो ।

सरकारले भन्सार दरलाई १५ प्रतिशत वाट बृद्धिगरी २० प्रतिशत पु¥याएको छ । जसको प्रभाव सिधै सुनको मुल्यमा परेको हो । साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबारको मुल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँ बढी हो ।

साताको पहिलो कारोबार दिन छापावाला सुन १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यता, शुक्रबार तेजावी सुन १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो साता नेपाली बजारमा चाँदीको मुल्यमा भने उतार चढाव आएको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ८ सय ५५ रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला १ हजार ८ सय ७५ पैसा कायम भयो । एक सातामा चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।