‘निजी क्षेत्रको मनोबल बढाएमात्र बजेट कार्यान्वयनमा सहज हुन्छ’


पूर्व अर्थमन्त्रीहरूले निजी क्षेत्रको मनोबल बढाए मात्र बजेट कार्यान्वयनमा सहज हुने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटीले आयोजना गरेको ‘आव २०८१\८२ माथिको छलफल’मा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट कार्यान्वयनका लागि निजी क्षेत्रको विश्वास जगाउनुपर्ने बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्षसमेत रहेका पाण्डेले छिमेकी मुलुकमा निजी क्षेत्र बलियो भएको कारण त्यहाँको आर्थिक विकास सकारात्मक दिशातिर अगाडि बढेको बताए । “निजी क्षेत्रमा गएको ऋणबाट प्रतिफल नआउँदासम्म देशको आर्थिक विकासले गति लिन सक्दैन”, उनले भने ।

पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले पुरानो योजनामा बजेट नराखी नयाँ योजना अगाडि सार्दा विकास योजनाले गति लिन नसक्ने बताए । “हरेक वर्ष नयाँ योजना थप्ने तर कार्यान्वयन नहुने परिपाटी बनेको छ”, उनले भने । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका डा महतले तलब भत्ता, सामाजिक सुरक्षा र विदेशमा तिर्नुपर्ने ऋणका कारण नेपालको अर्थतन्त्र दबाबमा परेको उल्लेख गरे ।

उनले निजी क्षेत्रलाई जाने पैसा सरकारले बैंकबाट आन्तरिक ऋण लिँदा उद्योग कलकारखाना सञ्चालन हुन नसक्ने र यसले प्रतिफल दिन नसक्ने स्पष्ट पारे। राजश्व भनेजति उठाउन नसक्दा समस्या पर्ने उनको भनाइ छ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले देशको विकासका लागि निजी क्षेत्रको मनोबल बढाउन जरुरी रहेको बताए ।

“निजी क्षेत्रको मनोबल बढाउनका लागि गर्नुपर्ने काम बजेटले गर्न सकेन”, डा. खतिवडाले भने । गत वर्षहरूको तुलनामा यसवर्ष बजेट राम्रो आएको उनको भनाइ छ । नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले निजी क्षेत्रको अधिकांश समस्यालाई सम्बोधन गरेको बताए । उनले आव २०८१/८२ को बजेटले सूचना प्रविधिलाई प्राथमिकतामा राखेको उल्लेख गरे । उनले बजेटलाई इमान्दारितापूर्वक कार्यान्वयन गरेमात्र सोचे जस्तो आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताए । निजी उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतिपय नीतिगत कुरा पटकपटक परिवर्तन गर्दा निजी क्षेत्र समस्यामा परेको बताए । “नेपालमा लगानीको सम्भावना छ भन्ने महसुस राज्यले निजी क्षेत्रलाई दिलाउनुपर्छ”, उनले भने ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगी व्यवसायीको मनोबल उच्च नराखेसम्म सरकारले राखेको लक्ष्य पूरा हुन नसक्ने बताएका थिए । अर्थशास्त्री प्रा डा अच्युत वाग्लेले राजस्वको परम्परागत स्रोतले बजेटले राखेको लक्ष्य पूरा हुन नसक्ने जिकिर गरे ।

उनले अहिलेको आर्थिक सङ्कट बजेटले सम्बोधन गर्न नसकेको उल्लेख गरे। उनले सरकारले यथेष्ट छलफल र सल्लाह नगरी बजेट ल्याउने बताए । इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले शिथिल अर्थतन्त्रका बीच बजेट आएको भन्दै यसलाई कार्यान्वयन गर्नका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।