नेपालमा ब्रिटिस लगानी बढाउनका लागि सहजीकरण गरिदिन अनुरोध


नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा ब्रिटिस लगानी बढाउनुका लागि सहजीकरण गरिदिन अनुरोध गरेका छन् । नेपालका लागि बेलायती राजदूत रोब फेनसँगको भेटका अवसरमा उनले सो आग्रह गरेको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भेटका अवसरमा अध्यक्ष ढकालले वैदेशिक नेपालमा लगानीका सम्भावनाबारे जानकारी गराउँदै नेपाल सरकारले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न आयोजना गरेको नेपाल लगानी सम्मेलनको पनि चर्चा गरेका थिए ।

नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवर्द्धन गर्न आग्रह गरे । निजी क्षेत्रले कुल ग्राहस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पु¥याइरहेको अवस्थाबारे पनि उनले राजदूतलाई जानकारी गराएका थिए । ढकालले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएको पनि उल्लेख गरेको जनाइएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको सल्लाहमा सरकारले लगानी प्रक्रियालाई सहज बनाउन केही समयअघि मात्र लगानी ऐन परिमार्जन गरेको उनको भनाइ थियो । ढकालले राजदूत फेनलाई नेपालमा जलविद्युत, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको जानकारी पनि राजदूतलाई गराएका थिए ।

भेटवार्ताका क्रममा महासङ्घ उपाध्यक्ष हेमराज ढकाल, सङ्घका लगानी फोरमका सभापति मनोज पौडेल र महासङ्घका महानिर्देशक गोकर्ण राज अवस्थीले नेपालमा लगानीका नयाँ सम्भावनाबारे जानकारी गराएका थिए । भेटका अवसरमा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा नेपाल उद्योग वाणिज्य महासङ्घलाई धन्यवाद ज्ञापन गरे। उनले दोहोरो कर मुक्ति सम्झौताबारे पनि चासो राखेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ जेठ २०८१, सोमबार  ०७ : ०६ बजे