नेप्सलाई एनसीएचएलले प्राप्ति गरेसँगै एकीकृत कारोबार सुरु


भुक्तानी प्रदायक सेवा प्रदायक नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम्स (नेप्स)लाई प्राप्ति (एक्विजिसन) पछि सोमबारदेखि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले एकीकृत कारोबार सुरु गरेको छ । नेपालमा यसरी दुई भुक्तानी प्रणाली सञ्चालकहरु बीच गाभ्ने\गाभिने वा प्राप्ति भएको यो नै पहिलो हो ।

नेपाल राष्ट्र बैंकको तीव्र दबाबपछि एनसीएचएलले नेप्सलाई प्राप्ति गरेको हो । यसका लागि २०८० चैत २३ मा यी दुई कम्पनीबीच सैद्धान्तिक सहमति भएको थियो ।

बैंक वित्तीय संस्थाबाट प्रवर्द्धित दुवै संस्था नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गर्दै आएका संस्था हुन् ।

नेप्सले हालसम्म विभिन्न कार्ड स्किमको लागि कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थालाई सेवा दिँदै आएको छ भने एनसीएचएलले कार्डबाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्ममार्फत सेवा दिँदै आएको छ । अब एउटै संस्थामार्फत उल्लिखित सेवा प्रदान हुनेछन् ।

प्राप्ति पछि एकीकृत चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ तथा कुल कोष १ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ । यसले पूर्वाधार विस्तार गर्न, जोखिमहरु न्यूनिकरण गर्न तथा सुरक्षा नियन्त्रणका प्रणालीहरुलाई सुदृढ गर्न, नविनतम अनुसन्धनका कार्यहरुमा लगानी गर्न तथा सेवाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।