धितोपत्र बोर्डलाई नियामकीय क्षमता बढाउन राजश्व सचिव घिमिरेको सुझाव

0
Shares

राजश्व सचिव डा. रामप्रसाद घिमिरेले धितोपत्र बोर्डको नियामकीय क्षमताको प्रभावकारिता बढाएर काम गर्न सुझाव दिएका छन् ।

नेपाल धितोपत्र बोर्डको ३२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले धितोपत्र बोर्ड आम लगानीकर्ता र जनताको हित संरक्षण गर्ने नियामकीय निकाय समेत भएकाले असाध्यै महत्वपूर्ण रहेको बताए । नियामक निकाय भएकाले लगानीकर्ताको हित संरक्षण गर्ने प्रमुख दायित्व बोर्डकै रहेको उनको छ ।

पुँजी बजारमा गलत प्रवृत्ति बढीरहेको, पुँजी बजार मार्फत उत्पादनशिल क्षेत्रमा परिचालनभन्दा शंकास्पद कारोबार बढीरहेको, पुँजी बजारको जोखिमको अन्तिम भार स्वयम लगानीकर्तामा पर्ने जोखिम रहेको, पुँजी बजारमा अस्वभाविक उतार चढाव हुने गरेको र प्रिमियम मूल्यमा धितोपत्रको सार्वजनिक निष्कासनमा समेत प्रश्न उठ्ने गरेको भन्दै उनले त्यसलाई सुधार गरेर अगाडि बढ्न नेतृत्वलाई सुझाव दिए ।नियमनको प्रभावकारीता बढाउनुपर्ने उनले बताए । 

“बाहिर आउने र चर्चा आएका सबै विषय सत्य हुन् र पूर्ण रुपमा सत्य हुन् भनेर मत भन्दिन तर केही न केही यर्थातता भने प्रतिबिम्बित भएको हुन्छ भन्नेतर्फ हामीले हेक्का राख्नुपर्ने हुन्छ ।” राजश्व सचिव घिमिरेले भने, “धितोपत्र बजारको विश्वसनियता अभिवृद्धि गराउनसक्ने, सम्पूर्ण पुँजी बजारको स्वस्थ विकास एवम् उत्पादनशिल क्षेत्रमा लगानी प्रवर्द्धन गर्न बोर्ड अझ बढी क्रियाशिल बन्नुपर्ने आवश्यकता देखिएको छ ।”

कार्यक्रमका प्रमुख अतिथि डा. घिमिरेले सञ्चार माध्यम र जनगुनासोमा समेत बोर्डको प्रभावकारिताका सम्बन्धमा चर्चापरिचर्चा हुने गरेको भन्दै नियामकीय निकायमा न्यायिक मनको अभाव भएको समेत सुनिने गरेकाे उल्लेख गरे । बोर्डको कार्यसम्पादनका सम्बन्धमा संसदीय समिति र अन्य निकायममा समेत विषयहरु उठ्ने गरेको भन्दै विषय उठ्नु राम्रो भएको उनले बताए । यस्तो विषय उठानले सुधारका लागि झक्झकाउने उनकाे तर्क छ । यद्यपी कानुनको छत्रछायाँमा बसेर काम गरिरहँदा भयरहित वातावरण हुनुपर्ने उनको धारणा छ ।

पुँजी बजारको विकास र विस्तारमा धितोपत्र बोर्डको महत्वपूर्ण भुमिका रहेकाले सर्वसाधारणको सहभागिता समेत उल्लेख्य रुपमा वृद्धि भएको छ । हालसम्म डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ६२ लाख ८८ हजारभन्दा धेरै पुगेको र धितोपत्र कारोबारका लागि स्वचालित अनलाईन प्रयोगकर्ताको संख्या २२ लाख पुगेको डा. घिमिरेले तथ्याङ्क प्रस्तुत गरे ।

पुँजी बजारको विकास भएपनि पछिल्लो समय पुँजी बजारमा उत्साह जाग्न नसकिरहेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “आम जनतामा उत्साह र मनोबल बढाउन जरुरी छ, सोही अनुसार बोर्ड र सरकारले पनि बजेट मार्फत सो विषयमा सम्बोधन गरेको छ । जमेर रहेको पुँजीलाई चलायनमान गराउन र परिचालन गर्न जरुरी छ ।त्यसका लागि बोर्ड त्यसतर्फ लाग्न जरुरी छ ।”

धितोपत्र बोर्ड आगामी दिनमा अवसरको सदुपयोग गर्दै चुनौतिको सामना गर्न अझ बढी सक्रिय र चनाखो हुनुपर्ने आवश्यकता उनले औंल्याए । साथै समग्र वित्तीय क्षेत्रका नियामक निकायहरुबीचको सम्बन्ध सवन्वयकारी र प्रगाढ बनाउनुपर्ने आवश्यकता देखिएको उनको भनाई छ । धितोपत्र बोर्डका कार्यकारी निर्देशकले प्रस्तुत गरेको कार्यसम्पादन, स्थलगत सुपरिवेक्षण, सम्पत्ति शुद्धिकरणका लागि भएका प्रयासको खुलेर प्रशंसा गरेका उनले आगामी आवदेखि जोखिममा आधारित सुपरिवेक्षण लागू गरेकोमा आभार व्यक्त गरे । ३२ वर्षसम्म बोर्डको आफ्नै कार्यालय नभएको प्रसङ्गमा जवाफमा दिँदै घिमिरेले धितोपत्र बोर्डको आफ्नै भवन निर्माणका लागि मन्त्रालयको तर्फबाट आफूले गर्नसक्ने समन्वय र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

बोर्डले ३२ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रममा प्रमुख अतिथिका रुपमा अर्थमन्त्री वर्षमान पुनलाई आमन्त्रण गरिएको भए पनि उनी कार्यक्रममा अनुपस्थित रहे । साथै सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र बोर्डका पूर्वअध्यक्षहरुको समेत उपस्थिति थिएन ।  पुस तेस्रो सातादेखि रिक्त रहेको अध्यक्ष नियुक्त गर्ने कार्य अन्तिम चरणमा पुगे पनि अर्थमन्त्रीको निस्क्रियताका कारण बोर्डको अध्यक्ष नियुक्ती प्रकृया रोकिएको छ । अन्तर्वार्ताका लागि तयार रहेका ५ जनाको अन्तर्वार्ता रोकेर अहिले अर्थले सहसचिव नरेन्द्र कुमार रानालाई अध्यक्ष बनाएर बोर्डमा पठाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।