आर्थिक स्थायित्वका लागि पूँजीबजारको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री, समस्या समाधान गर्छौ-अर्थमन्त्री

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक स्थायित्व कायम गर्न पुँजी बजारको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

नेपाल धितोपत्र बोर्ड स्थापनाको ३२औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिँदै उनले देशमा आर्थिक–सामाजिक रूपान्तरणसहित राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सरकार निरन्तर प्रयत्नशील रहेको बताए ।

साथै उनले उत्पादनशील, रोजगारमूलक र न्यायपूर्ण वितरणसहितको उच्च फराकिलो, दिगो र समावेशी आर्थिक बृद्धि हासिल गर्दै समिष्टगत आर्थिक स्थायित्व कायम गर्न पूँजीबजारको महत्वपूर्ण भूमिका रहने पनि बताएका छन् ।

यस्तै उनले अर्थतन्त्रको सुधार र पुनरूत्थान, उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जनामा सरकारको नीति तथा कार्यक्रम केन्द्रित रहेको बताए । लगानीमैत्री वातावरणको निर्माण गरी लगानी आकर्षण गर्न सम्बद्ध कानूनहरूमा समयानुकुल परिमार्जन गरिएको उनको भनाइ छ ।

उनले सरकारले व्यावसायिक वातावरणको निर्माण गरी उद्योगी व्यवसायीहरूको मनोबल बढाउन, छरिएर रहेका साना पूँजी एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न एवं बन्द भएका उद्योग कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न सरकारले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको पनि बताए ।

उनले बोर्डले प्रभावकारी रूपमा वित्तीय स्रोतको परिचालनमार्फत् आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्दै उत्पादन, उत्पादकत्व र रोजगारी बृद्धिमा सहयोग पुग्ने गरी आफ्ना गतिविधिहरूलाई अगाडि बढाउने अपेक्षा आफूले गरेको पनि बताएका छन् ।

प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्ने व्यवस्था गरिने छ : अर्थमन्त्री

त्यस्तै अर्थमन्त्री वर्षमान पुनले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटल फण्डका धितोपत्र एकाइमा लगानी गर्ने व्यवस्था गरिने बताएका छन् ।

नेपाल धितोपत्र बोर्ड स्थापनाको ३१ वर्ष पूरा गरी ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिँदै उनले धितोपत्र सम्बन्धी कानुनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाईने बताए । अर्थमन्त्री पुन बोर्डको औपचारिक कार्यक्रममा भने उपस्थित थिएनन ।

यस्तै अर्थमन्त्री पुनले आगामी दिनमा पुँजी बजारमा देखिएका समस्याहरूको समाधान गर्दै बजारलाई व्यवस्थित तथा नियमित गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

त्यसैगरी नियामक निकायको नियमन र सुपरिवेक्षण क्षमता सबल गरी संस्थागत सुदृढीकरण गरी पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षणमा जोड दिइने उनको दाबी छ ।

पुनले नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लिरिंगको संरचनागत सुधार हुने बताउँदै वस्तु विनिमय बजारको सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाईने प्रतिबद्धता जनाएका छन् ।

यस क्षेत्रमा क्षेत्रगत विविधीकरण ल्याउनका लागि निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने व्यवस्था गर्न लागिएको उल्लेख गरेका छन ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।