सार्वजनिक निष्काशन लगायतका काम कारवार्हीहरु अब अगाडि बढ्छन्ः बोर्ड अध्यक्ष राना

0
Shares

धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले सार्वजनिक निष्कासन (आईपीओ निष्कासन, हकप्रद) लगायतका धितोपत्रका सबै काम कारवार्हीहरु अब अगाडि बढ्ने बताएका छन् । बोर्डको ३२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष रानाले पुसदेखि रोकिएका बोर्डको कामका सम्बन्धमा एक चरणमा सञ्चालक समितिमा छलफल भैसकेको भन्दै आगामी बैठकपछि निकास दिने बताए । 

“नेपाल सरकारको तर्फबाट म बोर्ड अध्यक्ष नियुक्त भएर आएको छु । अहिल धेरै कुरा मिल्दै गएको छ । यस विषयमा धितोपत्र बोर्ड सञ्चालक समितिमा छलफल पनि भैसकेको छ । पुसदेखि रोकिएका कामहरु छन् अब त्यसलाई अगाडि बढाउनेछौं ।” अध्यक्ष रानाले भने, “नेपाल सरकार विश्वास गरेर नै मलाई समय नतोकी अध्यक्ष दिइसकेपछि धितोपत्र बजारलाई चलायमान बनाउने कुरामा बोर्ड सञ्चालक समिति र बोर्ड कर्मचारी त्यसतर्फ उन्मुख हुन्छौं ।”

अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधिको रुपमा बोर्डमा अध्यक्षको रुपमा भित्रिएका रानाले धितोपत्र बोर्डको आफ्नै भवन निर्माणको लागि सरकारी जग्गाको लागि पहल गर्ने बताए । तीन वर्षदेखि उपत्यका विकास प्राधिकरणसँग जग्गा किन्ने प्रकृया अगाडि बढेको भएपनि त्यसले मूर्त रुप लिन नसकेको बताउँदै उनले त्यसका सम्बन्धमा आफूले बुझ्ने बताए । साथै अर्थमन्त्रालय अन्तगर्तका निकायहरुसँग भएको जग्गाका विषयमा पनि बोर्डका तर्फबाट कुरा अगाडि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे । यसअघि कार्यक्रममा बोर्डका निर्देशक डा. नवराज अधिकारी, धितोपत्र कर्मचारी संगठनका दुबै अध्यक्ष र विशेष अथिथिको रुपमा मन्तव्य राखेका बीमा समितिका अध्यक्षले समेत बोर्डको आफ्नै भवन नहुँदा कर्मचारीको काम कारवाहीमा असर पुग्ने भन्दै राजश्व सचिव डा. रामप्रसाद घिमिरेलाई बोर्डको भवन बनाउन जग्गाको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

कार्यक्रमामा लेखा समिति लगायत संसदीय समितिले बोर्डलाई दिएको निर्देशनलाई कसरी लिने भन्ने विषयमा समेत अध्ययन भइरहेको उनको जिकिर थियो। नियामकमाथि अरू निकायहरूले हेर्न मिल्ने नमिल्ने विषयमा उठेको बहसमा अध्यक्ष रानाले जनताको चासो भएको विषय सार्वजनिक लेखा समिति, संसद, नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सबैले हेर्न सक्ने बताउँदै उनले भने, “ यसले हाम्रा नियमित काम कारवाहीको कानुन अनुसारको छन् कि छैनन् भनेर परीक्षणको पनि हुन्छ । त्यसैले सहजीकरण गरेर जानुपर्छ र त्यसले नै करेक्सनको बाटो आउँछ, हामी आफैँमा ठिक छौं भनेर भन्न मिल्दैन ।”

बोर्डको निकामकीय निकायबाट कहीँ न कहीँ बढी नै निर्देशन आएको भन्ने पनि सुनिएको बताउँदै संसदीय समितिले धितोपत्र बोर्डका सम्बन्धमा दिइएको निर्देशनका सम्बन्धमा अध्ययन भैरहेको र अध्ययन पश्चात निक्यौल गर्ने उनले स्पष्ट पारे । कानुनमा नै संशोधन गरेर जानुपर्ने अवस्था भए कानुन बनाउने निकायसँग नै समन्वय गरेर अगाडि बढ्न र ब्यवहारगत रुपमा नीति निर्देशनमा संशोधन गरेर जान आफूहरु तयार रहेको उनको धारणा थियो । निर्देशिकाहरुमा अब्जेक्सन आइरहेको छ भने कहीँ न कर्ही सुधार गर्नुपर्ने हुन्छ । उनले भने, “ऐन नियमहरुलाई समय सापेक्ष रुपमा संशोधन गर्न हामी लागिरहेका छौं, संशोधन हुन्छ । त्यसै बजोजिम निर्देशिकाहरु, कार्यविधिहरु पनि संशोधन हुँदै जान्छन् ।”

अहिलको अवस्थाबाट सम्पूर्ण लगानीकर्ताहरु हतोत्साहित हुनुपर्ने अवस्था नरहेको दाबी गर्दै उनले नेपाल सरकार त्यसमा प्रतिबद्ध रहेको बताए । धितोपत्र बोर्ड जुन उदेश्यबाट स्थापना भएको छ त्यो उदेश्यबाट कतैपनि विचलित नभएको र सोही बमोजिम काम गर्ने कुरामा दृढ प्रतिबद्ध रहेको समेत उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।