रासायनिक मलको बजेट २ अर्ब घट्यो, आयातमा पनि गिरावट, विज्ञ भन्छन्: कर्मचारी पाल्ने मात्रै बजेट आयो

0
Shares

सरकारले कृषि क्षेत्रलाई प्रोत्साहन गर्दै लैजाने बताउँदै आएपनि कृषि क्षेत्रको लागि अपरिहार्य रासायनिक मलको बजेट भने कटौति गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष (२०८१/८२) को लागि धान बाली, गहुँ बाली, तरकारी बाली लगायतमा प्रयोग गरिने रासायनिक मलको अनुदान २ अर्ब ५ करोड रुपैयाँ घटाएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि रासायनिक मल किन्न २७ अर्ब ९५ करोड मात्रै विनियोजन गरेको छ । जबकि, चालु आर्थिक वर्षका लागि ३० अर्ब विनियोजन भएको थियो ।

सरकारले २०८१ देखि २०९१ सालसम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी, निजी, सहकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी बढाएर लैजाने रणनिति अनुसार लगानी दशक घोषणा गरेका हुन् । तर लगानी दशकमा नै कृषि क्षेत्रको लागि आउने बजेट भने न्यून मात्रामा आएको छ।

यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेट पनि घटेको छ । यस परियोजनाका लागि चालु आर्थिक वर्षमा ३ अर्ब २२ करोड रुपैयाँ विनियोजन भएको थियो । आगामी आर्थिक वर्षका लागि २ अर्ब ९८ करोड छुट्याइएको छ । परियोजनाअन्तर्गत ८ हजार ७ सय १० पकेट, १ हजार ५ सय ८७ ब्लक, १ सय ७७ जोन र १६ सुपर जोनमार्फत कृषि बाली उत्पादन भइरहेको छ।

यस्तै सरकारले ‘कृषि उपज संकलन, प्रशोधन र निर्यात गर्ने फर्मले स्थानीय कृषकलाई आवश्यक पर्ने मल, बिउ तथा अन्य सामग्री प्रदान गरी कृषि उत्पादन खरिद गर्ने सुनिश्चित गरेमा उत्पादित उपजको परिमाणको आधारमा मल, बिउ, कृषि प्रसार सेवा र कर्जामा ब्याज अनुदान प्रदान गर्ने भएको छ । कृषिको व्यवसायीकरण गर्न राजमार्ग केन्द्रित तीन सय उत्पादक संस्थालाई सुरुवाती पुँजी उपलब्ध गराइने र, उत्पादित वस्तुको बजार सुनिश्चित हुने व्यवस्था मिलाएको छ । यसका लागि सरकारले १ अर्ब १२ करोड विनियोजन गरेको छ।

सरकारले जमिन एकीकरण र चक्लाबन्दी गरी व्यावसायिक रूपमा सामूहिक खेती गर्ने कृषकलाई कर छुट दिने , हिमाल र पहाडमा ५० रोपनी र तराईमा १० बिघाभन्दा बढी जमिन एकीकरण र चक्लाबन्दी गरी व्यावसायिक रूपमा सामूहिक खेती, पशुपन्छी पालन एवं जडीबुटी खेती गर्ने व्यक्ति, फर्म तथा सहकारीलाई ब्याज अनुदान, प्राविधिक सहयोग र मेसिनरी आयातमा कर छुट प्रदान गर्ने भएको छ।

तर,अर्थवित्रहरु भने बजेट कृषिमुखी नआएको दाबी गर्दै आएका छन् । सरकारले कर्मचारी पाल्ने गरी मात्रै बजेट ल्याएको कृषिविज्ञ कृष्ण पौडेल बताउँछन् । सरकारले किसानमुखी भन्दा कार्यकर्ता र कर्मचारीमुखी बजेट ल्याएको उनको भनाइ छ । कृषि क्षेत्रलाई चलायमान बनाउने हो भने उत्पादन बढाउने गरी नीति बनाएर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।

रासायनिक मलको आयात घट्दै

चालु आर्थिक वर्ष १० महिनाको अवधिमा रासायनिक मलको आयात घटेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिमा चालु आवको आयात घटेको हो ।

१० महिनाको अवधिमा विदेशबाट २५ अर्ब ५६ करोड रुपैयाँ बराबरको रासायनिक मल भित्रिएको छ । जुन, यो गत वर्षको तुलनामा ६ अर्ब ३१ करोडले कमी हो। गत आर्थिक वर्ष २०७९/८० वर्षमा ३१ अर्ब ८७ करोड रुपैयाँको आयात भएको थियो ।

नेपालमा विषेशगरी भारत, चीन र गल्फ देशबाट रासायनिक मलको आयात धेरै हुने गरेको छ । यसबाहेक नेपालमा इन्डोनेसिया, दक्षिण कोरिया, मोरोक्को, जापान र अमेरिका तथा जर्मनीबाट समेत रासायनिक मल आयात हुने गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।