पे वेल र सजिलो पेका अध्यक्ष र कर्मचारी सुन तस्करीको भुक्तानी र हुण्डी कारोबारमा पक्राउ, दोस्रो पटक म्याद थप


राष्ट्र बैंकको नियमनमा रहेका भुक्तानी सेवा प्रदायकहरुले हुण्डी तथा अवैध सुनको भुक्तानी गरेको भेटिएपछि पक्राउ परेका कर्मचारी तथा सञ्चालक माथि अनुसन्धान भईरहेको छ ।

सञ्चालनमा रहेका पे वेल वालेट र सजिलो पे ले यस्तो कारोबार गराएको भेटिएसँगै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले दुवै संस्थाका कर्मचारीहरुलाई गत साता पक्राउ गरेको थियो । सुन तस्करीहरूले सुनको रकम पठाउनको लागि सजलो पे र पे वेल वालेटको खातालाई माध्यम बनाएको देखिएको सिआईबीले जनाएको छ ।

सिआईबीका अनुसार अवैध सुनको कारोबार तथा हुण्डीको भुक्तानीमा दुवै वालेट सेवा प्रदायकले अस्वभाविक रुपमा रकम विभिन्न बैंक वित्तीय संस्थाबाट चनलाइज गरेका थिए । सिआईबी प्रवक्ता हुवेन्द्र बोगटीका अनुसार हुन्डी तथा अवैध सुनको भुक्तानी गरेको कसुरमा पक्राउ परेका दुई भुक्तानी सेवा प्रदायकका ५ जना सञ्चालक तथा कर्मचारीमाथि अनुसन्धान भईरहेको छ । उनका अनुसार गत साता पक्राउ परेका उनीहरुलाई दोस्रो पटक म्याद थप गरि अनुसन्धानलाई निरन्तरता दिइएको हो ।

सिआईबिका अनुसार पक्राउ पर्नेमा पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना सहित कर्मचारीहरू सुशील बन्जारा, प्रज्वल आचार्य, काश्यव मानन्धर र सुरज जबरा छन् । यता नेपाल राष्ट्र बैंकले गैर कानुनी भुक्तानी कारोबारमा संलग्न भएका दुवै भुक्तानी सेवा प्रदायकको बैंक खाता रोक्का गरेको जनाएको छ ।

दुई भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै नियामकीय अनुपालनासम्बन्धी छानबिनका लागि दुवै भुक्तानी सेवा प्रदायक कम्पनीका बैंक तथा वित्तीय संस्थामा रहेका खाता बन्द गरिएको उल्लेख गरेको छ ।

दुई वालेट कम्पनी विभिन्न १८ वटा बैंकमा जोडिएकोमा तस्करहरुले वालेटमा कम्पनीको नाममा रकम डिपोजिट गर्ने र जम्मा भएको रकम कम्पनीले आफ्नो बैंक खातामा जम्मा गर्ने गरेको भेटिएको थियो ।  यसरी कम्पनीको खातामा रकमान्तर भएको रकम तेस्रो पक्षले भुक्तानी लिने गरेको सिआईबीको भनाई छ । सिआईबी प्रवक्ता बोगटीका अनुसार एक दिनमा २ लाख रुपैयाँसम्म कारोबार गर्न पाउँनेमा २५ लाख रुपैयाँसम्मको कारोबार भएको देखिएको छ । दुई वटा वालेटबाट ३ अर्ब भन्दाबढी कारोबार भएको बताएका उनले कुन शीर्षकमा कति कारोबार भएको अनुसन्धान पछि खुल्ने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।