वैदेशिक अध्ययनको नाममा विदेश पलायन हुने नेपाली विद्यार्थीको संख्या बढ्दो क्रममा छ । चालु आर्थिक वर्ष (२०८०/८१) को दश महिनामा मात्रै ९० हजार ८७६ जनाले नो अब्जेशन लेटर (एनओसी) लिएका छन् ।
दश महिनाको अवधिमा नेपालबाट अध्ययन गर्न जानेले एक खर्ब चार अर्ब रूपैयाँ विदेश लगेका हुन। जापान, अस्ट्रेलिया, अमेरिका, बेलायतजस्ता मुलुक नेपाली विद्यार्थीको मुख्य गन्तव्य बन्न थालेको छ।
नेपालमा उच्च शिक्षा र रोजगारी सुनिश्चित गर्न नसक्दा ठूलो संख्यामा विद्यार्थी बाहिरिने गरेको शिक्षा विज्ञहरु बताउँछन् ।
उच्च शिक्षाका लागि विदेश गइसकेपछि आत्मनिर्भर बन्न सकिन्छ भन्ने धाराणाले पनि उनीहरु विद्यार्थी भिसामा बाहिरिने गरेका छन् । नेपालमा ब्याचलर, मास्टर सकेपछि भनेजस्तो जागिर नपाउने भएकोले धेरैजस्तो विद्यार्थी प्लस टु पछि नै विदेश लाग्ने गरेका गरेको शिक्षाविद्को बुझाइ छ ।
नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीले भने सोही अवधिमा एक अर्ब ९५ करोड भित्र्याएका छन् ।
चालु आवमा कुन देशबाट कतिले लिए एनओसी ?
चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ६२ देशमा वैदेशिक अध्ययनको लागि नेपालीले एनओसी लिएका छन् । जसमध्ये नेपाली विद्याथीहरुको रोजाइमा जापान परेको छ। अन्य देशहरुमा भन्दा जापान जाँदा लाग्ने खर्च र पुगेपछि पाइने शिक्षा तथा रोजगारीले पछिल्लो समय जापान जानेको संख्या बढ्दै गएको छ ।
चालु आवको दश महिनामा पनि अध्ययनका लागि जाने कुल संख्याको एक तिहाई विद्यार्थीले जापानको लागि अनुमती लिएका छन् । कुल ९० हजार ८७६ जनाले अनुमती लिएकामा जापानको लागि ३० हवार ११४ जनाले अनुमती लिएका छन् ।
यस्तै अध्ययनको लागि रोजाइमा पर्ने गरेको अको देश क्यानडा हो । दश महिनाको अवधिमा क्यानडाको लागि १५ हजार २३७ जनाले एनओसी लिएका छन् । यसैगरी, अष्ट्रेलियाको लागि १२ हजार ५५८ जना, युकेको लागि ९ हजार ५६९ जना, अमेरिकाको लागि ७ हजार ४९२ जना र कोरियाको लागि ३ हजार ७३० जनाले अनुमति लिएका छन् ।
यस्तो छ १० वर्षमा इनओसी लिने विद्यार्थीको संख्या
१० वर्षको अवधिमा ५ लाख विद्यार्थी विदेश पलायन भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार विद्यार्थीले लिएका अनुमतिपत्र (नो अब्जेक्सन लेटर) का आधारमा १० वर्षको अवधिमा ५ लाख ४३ हजार ८ सय ४२ जनाले एनओसी लिएका छन् ।
आर्थिक वर्ष २०७०/७१ मा २८ हजार १ सय २६ जनाले एनओसी लिएका छन् । सो संख्या २०७९/८० मा आइपुग्दा १ लाख १० हजार २ सय १७ पुगेको छ । विगत १० वर्षको तथ्यांक हेर्ने हो भने विदेश जाने विद्यार्थीको संख्या कोरोनाको कहर पछि झनै बढेको छ । कोरोना पछिको आर्थिक मन्दीका कारण नेपालमा आफ्नो भविष्य सुनिश्चित गर्न नसकेका विद्यार्थी विदेश पलायन हुन थालेका हुन् । आर्थिक वर्ष २०७७/७८ मा २८ हजारले एनओसी लिएकामा २०७८/७९ मा ३.५४ गुणाले बढेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा १ लाख २ हजार ५०४ जनाले एनओेसी लिएका छन् । यसरी हेर्दा बर्सेनि एनओसी लिनेको संख्या बढ्दो छ । तर, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीका अनुसार एनओसी लिएका सबै विद्यार्थी विदेश जान्छन् भन्ने छैन । कति देशमा भिसा लागेपछि शुल्क तिर्न, कति देशमा प्रोसेस गर्न र डलर सटहीका लागि एनओसी लिने गरेको उनी बताउँछन् ।
तीन वर्षमा वैदेशिक अध्ययनको लागि कति बाहिरियो ?
चालू आर्थिक वर्षको दश महिनामा ठूलो रकम वैदेशिक अध्ययनका लागि बाहिरिएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । वैदेशिक अध्ययनको लागि तीन वर्षमा लगभग ३ खर्ब रुपैयाँ नै बाहिरिएको छ ।
गत साउनदेखि बैशाखसम्ममा वैदेशिक अध्ययनकै लागि नेपालबाट १ खर्ब ४ अर्ब २४ करोड ६ लाख रुपैयाँ बाहिरिएको छ।
यस्तै, गत आर्थिक वर्ष मा ०७९/०८० मा वैदेशिक अध्ययनकै लागि नेपालबाट १ खर्ब ४२ करोड रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो ।
कुल जनसंख्याको ७ प्रतिशत विदेशमा
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालका कुल २१ लाख ९० हजार ५ सय ९२ जनसंख्या विदेशमा नै बसोबास गर्ने गर्दछन् । यी मध्ये अधिकाशं वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश गएका हुन् । विदेश अनुपस्थित जनसंख्या मध्ये पुरुषहरुको जनसंख्या १७ लाख ९९ हजार ६ सय ७५ रहेको छ । महिलाको जनसंख्या ३ लाख ९० हजार ९ सय १७ रहेको छ । अक्सर विदेशमा बसोबास गर्नेहरुको उमेर विष्लेषण गर्दा सबभन्दा बढी २० देखि २४ वर्ष उमेर समुहका पुरुषहरु विदेश गएको देखिन्छ । त्यस्तै महिलाहरुमा पनि सोही उमेर समुहको बढी जनसंख्या विदेश गएको देखिन्छ । नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ ।
“अध्ययनका लागि बाहिरिनु भनेको समस्या होइन सम्पती हो”
विदेशमा पढ्न जाने ट्रेन बढ्दो छ । १२ कक्षा पढेपछि अधिकांश युवा युवतीको चाहाना नै ’अबरोड स्टडीज’ हुन्छ । यही ट्रेनलाई नै नेपालले सदुपयोग गर्न सके यो ट्रेनलाई सम्पतीको रुपमा विकास गर्न सकिने शिक्षा विद् विध्या नाथ कोइराला बताउँछन् । हरेक देशका नागरिक अर्को कुनै देशका गएर उच्च शिक्षा हासिल गर्ने गरेको बताउँदै उनले भने, “कुनै पनि विद्यार्थी विदेशमा पढ्न जान्छ भने त्यो सम्पती होइन विपत्ती हो भन्ने बुझ्न भएन । उसले पढेको कुरालाई नेपालमा नै उपयोग गर्न जान्नु पर्छ ।” विदेशमा पढेपछि नेपाल आएर उसले उपयोग गर्ने हो भने ’अबरोड स्टडीज’ समस्या नभई सम्पत्ती ह्ुने उनको बुझाइ छ । विदेशमा सिकेको सीप र शिक्षा स्वदेशमा उपयोग ष्र्ने हो भने अहिलेको ट्रेन्ड भोलिको देश विकासका लागि महत्वपूर्ण हुने शिक्षाविद् कोइराला बताउँछन् ।
यस्तै, उनले नेपालको शिक्षा प्रणाली बलियो बनाउने हो भने विद्यालयहरुलाई लचिलो बनाउनु पर्ने बताए । उनले अन्य देशहरुसँग तुलना गर्दै भने, “नेपालमा पढ्ने समय र परिक्षाको समय निश्चित गरिएको छ । त्यसो नगरी विद्यार्थीलाई सजिलो हुने गरी लचिलो ठंगले विद्यालयलाई लान सकियो भने शिक्षा क्षेत्रको विकास हुन्छ।”
दश महिनामा वैदेशिक रोजगारीको लागि बाहिरिए ६ लाख
दश महिनामा ६ लाख १२ हजार ७ सय ९१ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। चालु आर्थिक वर्ष (२०८०/८१) को पहिलो महिना साउनमा ५५ हजार ५ सय ७५ नाले श्रम स्वीकृति लिएका थिए । जुन नयाँ र पुनः श्रम स्वकृतीको संख्या हो । यस्तै भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृती लिँदा असोजमा ५६ हजार २३५ जनाले श्रम स्वीकृती लिएका थिए ।
विभागका अनुसार, कात्तिकमा ४३ हजार ६३३ जनाले श्रम स्पीकृती लिँदा मंसिरमा ७१ हजार २७६ जनाले श्रम स्वीकृती लिँदा पुसमा ६५ हजार ८१३ जनाले श्रम स्वीकृती लिएका थिए ।
यस्तै माघमा ६२ हजार १४७ जनाले श्रम स्वीकृति लिएका छन् भने फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृती लिएका थिए भने चैतमा ७० हजार ९३३ जनाले श्रम स्वीकृती लिएका थिए् । यता, बैशाखमा भने ७० हजार ६३७ जनाले श्रम स्वीकृती लिएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया