तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्णक्षमतामा विद्युत् उत्पादन हुन थालेको छ । केन्द्र प्रमुख इञ्जिनियर पशुपति गौतमले समयमा वर्षा भएकाले जेठको दोस्रो सातादेखि पूर्णक्षमतामा विद्युत् उत्पादन हुँदै आएको जानकारी दिए ।
केन्द्रमा रहेका तीनवटा युनिटबाट २३\२३ मेगावाटका दरले ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उनले बताए । “सुख्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोलाखोल्सी र झरनाको पानी कम हुँदा विद्युत् उत्पादन घटेर ३० मेगावाटसम्म पुग्ने गरेको छ । यसपटक समयमा वर्षा भएकाले हाल पूर्णक्षमतामा विद्युत् उत्पादन भएको हो”, उनले भने ।
मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने गरेकाले पानीको अभाव नभएको गौतमले बताए । “वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन बढ्ने गर्दछ”, उनले भने,“सुख्यायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोलाखोल्सी र झरनाको पानी कम हुने भएकोले पानीको बहाव थोरै हुँदा विद्युत् उत्पादन पनि घट्ने गरेको छ ।” यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया