श्रीलङ्काविरुद्ध उच्च मनोबलमा नेपाली टीम, खेलमा वर्षा बाधक बन्ने चिन्ता !

0
Shares

आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले बुधबार विहान टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार भोलि बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमनेसामने हुन लागेका हुन ।

त्यसो त उमेर समूहमा भने यी दुई टोलीबीच पटक–पटक भेट भएको थियो । सन् २०१६ को यू१९ एसिया कपमा कामिन्डु मेन्डिसको कप्तानीमा रहेको श्रीलंकासँग नेपाल १ रनले पराजित भएको थियो । उक्त खेलमा दीपेन्द्रसिंह ऐरीले ९० रनको इनिङ खेलेका थिए । यी दुवै अहिले विश्वकप टोलीमा छन् । नेपालबाट भने उक्त खेलमा आसिफ शेख, कमलसिंह ऐरी र सन्दीप लामिछाने पनि खेलेका थिए ।

नेपालले टेष्ट राष्ट्र श्रीलङ्कालाई हराउँदै आफनो विश्वकप यात्रालाई अगाडि बनाउने कोसिसमा रहनेछ । त्यसैगरी लगातार दुई खेलमा पराजित श्रीलङ्काले पनि नेपाललाई हराउदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ । नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि पनि बाँकी खेल जित्नुपर्ने दबाब छ । विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले अवको ६ दिनमा तीन टेस्ट राष्ट्रसँग खेल्नेछ । नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा समूहचरणको अन्तिम दुई खेल खेल्ने छ ।

नेपाललाई सुपर ‘एट’ मा पुग्न बाँकी खेल जित्नु पर्ने दबाब रहेको छ । समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान रहेको छ । श्रीलंका पहिलो दुई खेलमा क्रमशः दक्षिण अफ्रिकासँग ६ विकेटले र बंगलादेशविरुद्ध २ विकेटले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिने स्थितिमा छ ।

पहिलो दुई खेलमा पराजित भएकाले दबाब श्रीलंकाली टोलीमा रहेको नेपालका कप्तान रोहित पौडेलले बताएका थिए । तर लउडरहिलमा नेपालको यो पहिलो खेल हो । यस मैदानमा नेदरल्यान्ड्स र आयरल्यान्डविरुद्ध दुई अभ्यास खेल खेलेकाले श्रीलंका यहाँको विकेटसँग परिचित भइसकेको छ ।

हेड टु हेड

नेपाल र श्रीलंकाबीच पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेका हुन् । ट्वान्टी–२० मा नेपालको यो दोस्रो सहभागिता हो । सन् २०१४ मा नेपालले पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा भएको त्यो संस्करण श्रीलंकाले जितेको थियो । श्रीलंकाले ट्वान्टी–२० विश्वकपमा पहिलो पटक सामना गरेको प्रतिद्वान्द्वीविरुद्ध खेलेका १० खेलमा केवल दुई पराजयमात्र भोगेको छ । नेपालले विश्वकपमा खेलेको कुल ४ खेलमा २ जित र २ हारको नतिजा निकालेको छ । टेस्ट राष्ट्रविरुद्ध नेपालले ट्वान्टी–२० मा खेल्न लागेको यो केवल पाँचौं खेल हो ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले श्रीलङ्काविरुद्धको खेल नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताए । उनले विश्वकप क्रिकेट प्रतियोगितामा एशोसिएट राष्ट्रले पनि टेस्ट राष्ट्रलाई पराजित गरेको इतिहास रहेको भन्दै आफ्नो टोलीले उच्च मनोबलका साथ श्रीलङ्का विरुद्धको खेलमा जित निकाल्ने विश्वास व्यक्त गरे । विश्वकप अघि नेपालले फ्लोरिडामै क्यानडाविरुद्ध एक अभ्यास खेल खेलेको थियो । जसमा नेपाल क्यानडासँग पराजित भएको थियो ।

कस्तो छ फ्लोरिडाको मैदान ?

अमेरिकाका क्रिकेट मैदान कम स्कोरका कारण आलोचित बनेका छन् । तर, फ्लोरिडाको मैदान डालास र न्युयोर्कभन्दा बढी ब्याटिङ मैत्री रहेको छ । तर, खेलमा वर्षा बाधक बन्ने सम्भावना पनि छ ।

फ्लोरिडामै श्रीलंकाले भने दुई अभ्यास खेल खेलेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग हारेको श्रीलंकाले दोस्रो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो।
यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो । घरेलु मैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (यूएई) लाई सेमिफाइनलमा पराजित गर्दै दोस्रो पटक विश्वकपमा स्थान पक्का गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।