‘श्रमाधान रोजगार मेला’मा ८५ श्रमिकलाई रोजगारी सिफारिस


धनगढीमा सम्पन्न दुई दिने ‘श्रमाधान रोजगार मेला’ मा ८५ श्रमिकलाई रोजगारदातासमक्ष रोजगारी दिन सिफारिस गरिएको छ । मेलामा रोजगारदाताको तर्फबाट दुई हजार चार सय छ पदका लागि माग भएको थियो । रोजगारीका लागि दुई हजार छ सय ६९ ले निवेदन दिएका थिए ।

निवेदकमध्ये ८५ श्रमिकलाई सिफारिस गरिएको हो । श्रम तथा रोजगार कार्यालय धनगढीका प्रमुख जनकसिंह उखेडाले रोजगारदाता र श्रमिकबीच सीप, दक्षतासँगै सेवा सुविधामा कुरा मिले सिफारिस भएकाले रोजगारी पाउने बताए ।

“रोजगारदाताले खोजेजस्तो दक्ष श्रमिकको निवेदन कम परेको देखियो”, उनले भने, “देशको अर्थतन्त्र कमजोर रहेको अवस्थामा रोजगार मेलाले रोजगारदाता र श्रमिकबीच सम्पर्क गराएर कम्तीमा झक्झक्याउने काम गरेको छ, यसले सकारात्मक परिणाम दिने विश्वास छ ।” श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ सुदूरपश्चिमको संयुक्त आयोजनामा सम्पन्न मेला दश हजार एकसय ५० ले अवलोकन गरेको आयोजकले जनाएको छ ।

मेलाले रोजगारीका अवसर सिर्जना, सीप विकास प्रवर्द्धन, उद्यमशीलतालाई प्रोत्साहन र सार्वजनिक निजी साझेदारी अभिवृद्धिलगायतमा टेवा पुग्ने विश्वास गरिएको छ । नेपालमा कतिपय काम गर्नका लागि दक्ष श्रमिकको अभाव हुँदा यस्ता श्रमिक बाहिरबाट मगाउनुपर्ने अवस्था छ । प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति कम रहेको बताइएको छ ।

श्रम कार्यालयका प्रमुख उखेडाले सुदूरपश्चिम प्रदेशमा प्राविधिक कामतर्फ अपरेटर, इन्जिनियरलगायतको दक्ष जनशक्तिको अभाव रहेको बताए । मेलामा आइएलओ, स्वीस हेल्भेटास, विश्वविद्यालय, नेपाल बैंकर्स एसोसिएसन, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल संयुक्त युनियन समन्वय केन्द्रको सहभागिता रहेको थियो । प्रत्येक प्रदेशमा रहेका स्थानीय तहहरु, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, टे«किङ एजेन्सिज् एसोसिएसन अफ नेपाल, नेपाल माउन्टेरिङ एसोसिएसन, सेभ द चिल्ड्रो, वल्र्डलिङ्क कम्युनिकेसन र एभरेष्ट नेटकोसमेत मेलामा सहभागिता रहेको आयोजकले जनाएको छ । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।