जाउलाखेल डिस्टीलरीको ६ महिनाको व्यापार ५ अर्ब नाघ्यो

0
Shares

मदिराजन्य पदार्थहरुको उत्पादक कम्पनी जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिजले ६ महिनामा ५ अर्ब ११ करोड रुपैयाँ (अपरिष्कृत) कारोबार गरेको छ।

रुस्लान भोड्का, गोल्डेन ओक, ब्ल्याक ओक, ब्लु ओक, रोयल ट्रेजर, हिमालयन ब्रान्डी जस्ता प्रख्यात मदिरा सहित २१ ब्रान्डको उत्पादक जाउलाखेल इन्डष्ट्रिजको व्यापार अघिल्लो वर्षको तुलनामा घटेको हो ।

आर्थिक वर्ष २०२४/२०२५ को ६ महिनामा कम्पनीले ५ अर्ब ११ करोड ८० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२३ मा १३ अर्ब ६२ करोड ५० लाख कारोबार गरेको कम्पनीले सन् २०२२ मा १६ अर्ब ९८ करोड ९० लाख आम्दानी गरेको थियो भने सन् २०२१ मा १४ अर्ब ५० करोड २७ लाख बराबरको कारोबार गरेको थियो।

कम्पनी गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेजर, हिमालयन ब्राण्डीको बिक्रीबाट ५९ प्रतिशत आम्दानी गरेको छ । यस्तै, भोड्का, जीन र अइलासहितका ह्वाइट स्पिरिटबाट २२ प्रतिशत र बियरबाट १९ प्रतिशत आम्दानी गरेको छ । ब्राण्ड अनुसार कम्पनीले गोल्डेन ओक र ब्लू डाइमण्ड जीन बिक्रीबाट मात्रै ६२ प्रतिशत आम्दानी गर्न सफल भएको जनाएको छ ।

सन् २०१६ मा स्थापना भएको जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिज डिष्ट्रिब्युसन प्रालि नेपालमा मदिरा उत्पादनका बादशाह विजय कुमार शाहको अगुवाइमा सञ्चालनमा आएको छ । कम्पनीमा विजय कुमार शाहको ५५ प्रतिशत र उनका छोरा राज बहादुर शाहको ४५ प्रतिशत लगानी रहेको छ । विजय कुमार शाह नेपालमा व्यक्ति आयकर तर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति हुन् ।

कम्पनीका देशभर चार वेयरहाउस र १ सय ८७ बढी डिलरहाउसहरु रहेका छन् । सन् १९७३ मा जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिज स्थापना गरेका विजय कुमार शाहले नेपालमा पहिलो पटक रुसलान भोड्का नेपाल भित्राएका थिए । हाल जाउलाखेल ग्रुप अन्तर्गत चार डिस्टीलरी, एक ब्रुअरी र एक रिसर्च युनिट सञ्चालनमा छन् ।

कम्पनीले ४ अर्ब ३२ करोड ९२ लाख ६० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ७७ करोड ९२ लाख बराबरको दीर्घकालीन कर्जाका लागि एल डबल बी र ४ अर्ब ३० करोड बराबरको अल्पकालीन कर्जाका लागि एनपी एफोर प्लस रेटीङ पुनः पुष्टि गराएको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।