वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स सम्पन्न


नेपालले विश्व वातावरण दिवसको अवसर पारेर पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स (डब्लुएमसिसि) सम्पन्न गरेको छ । नेपाल उद्योग परिसंघ, द कोका–कोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खालि सिसी, वुमन फर ह्युमन राइट्स र कन्फेडेरेसन अफ नेपालिज इन्डस्ट्रिज योङ अन्ट्रप्रन्योर्स फोरमको संयुक्त आयोजनामा उक्त सम्मेलन गरिएको थियो ।

डब्लुएमसिसिले फोहोर व्यवस्थापन, जलवायु परिवर्तन र वातावरणीय स्थायित्व सम्बन्धी महत्वपूर्ण मुद्दाहरूको समाधानको लागि सरकारी कर्मचारीहरू, उद्योग व्यवसायीहरु, वातावरणविद् र नागरिक अगुवाहरूलाई एकसाथ ल्याएको आयोजकले जनाएको छ ।

कार्यक्रममा मटेरियल रिकभरी फेसिलिटीको अनावरण र ‘एबिसी फर क्लाइमेट चेन्ज’ पुस्तकको विमोचन गरिएको थियो । कोका–कोला फाउन्डेसनका प्रेसिडेन्ट कार्लोस पागोआगाले वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स नेपालको लागि कोशेढुङ्गा भएको बताएका थिए । “यस सम्मेलनले हामीले सामना गर्नुपरेको वातावरणीय चुनौतीहरूको दिगो समाधानहरू खोज्ने द कोका–कोला फाउन्डेसनको साझा प्रतिबद्धतालाई उजागर गरेको छ,” उनले भनेका छन् ।

सम्मेलनमा भएको मेयर फोरममा फोहोरको प्रभावकारी व्यवस्थापन रणनीतिका बारेमा स्थानीय सरकारी अधिकारी र उद्योगीहरु बीच संवाद गरिएको थियो । सम्मेलनमा ललितपुर, धनगढी, धनकुटा, बूढानीलकण्ठका मेयर र चन्द्रागिरिका उपमेयरहरुको सहभागिता रहेको थियो ।

सम्मेलनले सर्कुलर अर्थव्यवस्थालाई प्रवद्र्धन गर्न फोहोरलाई उपयोगी स्रोतहरूमा परिणत गर्ने उपायहरुको बारेमा उजागर गरेको आयोजकको दाबी छ । छलफलमा कार्बन उत्सर्जन, प्लास्टिक प्रदूषण, काठमाडौंको वायु प्रदूषण, सगरमाथा लगायत हिमालहरुमा देखा परेको जलवायु परिवर्तनको असर जस्ता विषयमा छलफल भएको थियो । साथै जिआइजेटले सम्मेलनमा प्रस्तुति दिँदै फोहोर व्यवस्थापनका नौला विचारहरू र पेरिस सम्झौतामा नेपालको प्रतिबद्धतालाई उजागर गरेको आयोजकको भनाई छ ।

वुमन फर ह्युमन राइट्सकि प्रेसिडेन्ट कविता पाण्डेले जलवायुका असर कम गर्ने कार्यमा भाग लिन चाहने समुदायहरूलाई सम्मेलनले थप उर्जा प्रदान गर्नुका साथै वातावरण संरक्षणमा महिलाहरूको सहभागितालाई पनि सशक्त बनाएको बताएकी थिइन् ।

नेपालमा फोहोर व्यवस्थापन र जलवायु सम्बन्धी कार्यलाई अगाडि बढाउने व्यापक चासो र प्रतिबद्धतालाई उजागर गर्न ३३ जिल्ला र ५ देशका गरी ६०० संस्थाका करिब १ हजार प्रतिनिधिहरू उक्त सम्मेलनमा सहभागी थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।