बढ्दो दैनिक कारोबारले सेयर बजारमा जाग्दैछ माहोल, तीन दिन बढेपछि बिहीबार करेक्शन

0
Shares

सेयर बजारमा बिहीबार दैनिक कारोबार रकम बढ्दै गएर करिब साढे ६अर्ब पुगेको छ । चार अर्बबाट बढ्न थालेको कारोबार रकम एक सातामै करिब ४० प्रतिशतले बढेको हो । यसले बजारमा विस्तारै लगानीकर्ताको प्रवेश गर्दै गरेको संकेत दिन्छ ।

असारमा पनि ब्याजदर घट्ने भएपछि लगानीकर्ताले विस्तारै सस्तो मूल्यमा सेयर उठाउन थालेका हुन् । यसले दैनिक कारोबार रकम क्रमश बढ्दै गएको देखिएको हो । बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता, लगानीयोग्य रकमको सहज उपलब्धता, कर्जाको न्यून माग, र चालु आर्थिक वर्ष सकिन एक महीना मात्रै बाँकी रहँदा लगानीकर्ताले कम्पनीले गर्ने प्रगति विवरणले समेत लगानीका लगानी उपयुक्त वातावरण सिर्जना भएको लगानीकर्ताहरु बताउँछन् । पछिल्ला दिनमा कारोबारीभन्दा दीर्घकालीन लगानीकर्ताले बजारमा लगानी बढाएका छन् । यसले पनि बजारले गति लिने अनुभवी लगानीकर्ता बताउँछन् ।

तीन दिनको वृद्धिपछि बिहीबार आएको करेक्शनले बजार वृद्धिलाईथप टेवा पुग्ने हुन्छ । बढेको बढ्यै गरेको बजार दिगो हुने नभएपनि करेक्शन सहित अगाड बढेको बजार टिकाउ हुने गर्दछ । सोही कारणले पनि बजारमा अहिलेको समय लगानीका लगानी उपयुक्त समय रहेको बताइन्छ । यद्यपी कम्पनी छनोट गर्दा पुँजीगत लाभ दिने सहित लाभांशबाट समेत फाइदा हुने कम्पनीमा लगानी गर्नुपर्ने पुराना लगानीकर्ताको अनुभव छ । कतिपय कम्पनीहरु घाटामा रहेपनि निरन्तर मुल्य उचालिने र पछि सोही अनुसार मूल्य घट्ने हुँदा जोखिम बढ्ने कारणले लगानीपुर्व कम्पनीके विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने हुन्छ ।

अघिल्ला तीन दिनमा बढेको बजार बिहीबार करेक्शनमा गएको छ । नेप्से ९.३२ अंकले घटेर २११२.२९ बिन्दुमा अडिएको छ । बजार करेक्शनमा गएसँगै विकास बैंक र फाइनान्स बाहेक अन्य ११ ओटा उपसमुहगत सूचक ऋणात्मक बनेका छन् । सर्वाधिक घटेका ब्यापार र उत्पादन तथा प्रशोधनमुलक १.०३ प्रतिशतले घटेको छ । आज फाइनान्स सर्वाधिक २.०३ प्रतिशत र विकास बैंक १.३१ प्रतिशतले उकालो लाग्यो ।

बिहीबार नेप्से ०.४३ प्रतिशतले घटेको बजारमा सेन्सेटिभ इन्डेक्स ०.१९ प्रतिशत, फ्लोट इन्डेक्स ०.३३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ प्रतिशतले घटेको छ । बिहीबार ३१३ कम्पनीका १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर ७७ हजार ४०० पटक कारोबारमा आउँदा दैनिक काराबार रकम ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रुपैयाँमा समेटिएको छ । जुन अघिल्लो दिनको तुलनामा ५४ करोड ९० लाख रुपैयाँले धेरै हो  । हिजाे बुधबार ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार कित्ता सेयर ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा उक्लिएको छ । फाइनान्सको २८ करोड ४७ लाख ३९ हजार रुपैयाँ बराबरको ४ लाख ७० हजार ९५२ कित्ता सेयर किनबेच भएको छ । यस्तै हिजोसम्म शीर्ष कारोबार हुँदै आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आज २० करोड ५७ लाख ५८ हजार रुपैयाँ, समृद्धि फाइनान्सको १७ करोड ५६ लाख, साधना लघुवित्तको १२ करोड ९९ लाख रुपैयाँ र सिईडिबी हाइड्रोपावरको १२ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै बरुण हाइड्रोपावरको १२ करोड १ लाख, माउन्टेन इनर्जी नेपालको १० करोड १३ लाख, गुडविल फाइनान्सको १० करोड १२ लाख, प्रोगेशिभ फाइनान्सको ९ करोड ६९ लाख रुपैयाँ र सबैभन्दा धेरै ७ लाख ५० हजार ३९५ कित्ता कारोबार भएको हिमालयन बैंकको संस्थापक सेयर ९ करोड ३८ लाख रुपैयाँमा किनबेच भएको छ । बैंकको संस्थापक १२५ रुपैयाँ दरमा कारोबार भएको हो ।

चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

बुधबार कारोबारमा आएका ३१३ मध्ये ४ ओटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन समृद्धि फाइनान्स, कुथली बुखरी हाइड्रोपावर, साधना लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बिहीबारको बढोत्तरीपछि समृद्धि फाइनान्सको प्रतिकित्ता मूल्य ४३५.६० रुपैयाँ, कुथली बुखरी हाइड्रोपावरको प्रतिकित्ता मूल्य १६११.५० रुपैयाँ, साधना लघुवित्तको प्रतिकित्ता मूल्य ११९५ रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको प्रतिकित्ता मूल्य ३५८ रुपैयाँ पुगेको छ ।

यसैगरी आजको बजारमा बाराही हाइड्रोपावरको ९.७४ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ९.२७, गुडविल फाइनान्सको ८.८४, सनराइज फस्ट म्युचुअल फन्डको ५.९७ र राद्यी विद्युत कम्पनीको ४.३३ प्रतिशतले मूल्य बढेको छ । बिहीबारको बजारबाट गणपति लघुवित्तको ८.६४ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ८.०१ प्रतिशत, महुली लघुवित्तको ७.८७ प्रतिशत, कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ७.४८ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ६.४४ प्रतिशत र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.११ प्रतिशतले बढेको छ ।

मिड सोलु हाइड्रोपावरको सबैभन्दा धेरै १० प्रतिशतले मूल्य घटेको छ । ७७ रुपैयाँ प्रतिकित्ता घटेपछि कम्पनीको सेयर ६९३ रुपैयाँमा झरेको छ । यस्तै भगवती हाइड्रोपावरको ८.२७ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चरको ७.७८ प्रतिशत, कुमारी धनवृद्धि योजनाको इकाईमूल्य ५.८३ प्रतिशत र महुली लघुवित्तको ५.६२ प्रतिशतले मूल्य घटेको छ ।

आजको कारोबारपछि कुल बजार पुँजीकरण १४ अर्ब ७९ करोड १४ लाख रुपैयाँले घटेर ३३ खर्ब ४९ अर्ब ४७ करोड ५४ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन बुधबार कुल बजार पुँजीकरण ३३ खर्ब ६४ अर्ब २६ करोड ६८ लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।