वैदेशिक रोजगारीले रितिँदै ग्रामिण वस्ती, ३४ जिल्लाको जनसंख्यामा गिरावट

0
Shares

युवा देशको कर्णधार हुन् । देशको आर्थिक विकासको मेरुदण्ड हुन् । राष्ट्रका परिवर्तनका संवाहक हुन् । तर तिनै युवा विदेशीने संख्या बढ्दै गएको छ । कोही रोजगारीको नाममा विदेशीने गरेका छन् भने कोही अध्ययनको नाममा ।

जेठ महिनामा मात्र रोजगारीको लागि ७२ हजार नेपाली विदेश लागेका छन् । यता, चालु आर्थिक वर्ष (२०८०/८१) को दश महिनामा मात्रै विदेश पढ्न जानको लागि ९० हजार ८७६ जनाले नो अब्जेशन लेटर (एनओसी) लिएका छन् ।

यस तथ्यांकलाई आधार मान्दा दैनिक २ हजार नेपाली कामको लागि र दैनिक ३०० नेपाली पढाईको लागि बाहिरिन्छन् । उनीहरुले देशमा भविष्य देख्न छाडेका छन् । देशमा आफ्नो समृद्ध भविष्य खोज्नुपर्ने तिनै युवा परदेशको सपना बुन्न थालेका छन् । देशको राजनितिक र आर्थिक गतिविधिले दिक्क भएका युवा एयरपोर्टमा झोला बोकेर उभिरहेका देखिन्छन् ।

आँखाभरी सपना र मुटुभरी पीडा अनी हातमा झोला लिएर एयरपोर्टमा उभिरहेकी सिर्जना ढकाललाई विदेश जान मन छैन । ‘सरकारले मेरा छोरा, छोरीको उच्च शिक्षाको व्यवस्था मात्र गर्न सक्यो भने म नेपाल फर्किन्छु’ आखाँभरी आशु पार्दै उनले भनिन्, ‘ मेरो ३ वर्षको छोरा र ७ वर्षको छोरी छ । उनीहरुलाई पढाउन कै लागि म विदेशिनु पर्योे । देशको मायाले मात्रै नहुने रैछ ।’ देशको अवस्था देखि आफू आजित भएको उनी गुनासो गर्छिन् । नेपालमा रहँदा हुनेसम्म गरेको भन्दै उनले भनिन्,‘ मैले आफ्नै परिवारसँग बस्नको लागि हुनेसम्म गरे । तर पैसा र पावर नलाग्ने हामीलाई देशको नागरिक नै होइन जस्तो व्यवहार गरिन्छ ।’
उनी त एक पात्र मात्र हुन् । यहाँ हरेक युवाको सोच विदेश जाने नै छ । अनि हरेक बुबा आमाको सोच विदेश पठाउने ।

राष्ट्रिय युवा परिषद् ऐनले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा निर्धारण गरेको छ। तर देशमा तिनै युवाको संख्या घट्दो क्रममा रहेको छ । राष्ट्रिय जनगणना २०७८ लाई आधार मान्ने हो भने पछिल्लो १० वर्षमा ३४ जिल्लामा जनसंख्या घटेको छ । नेपालको जनसंख्या २६ लाख ७० हजार बढेर २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगे पनि यी ठाउँमा जनसंख्या वृद्धिदर घटेको हो।

दश वर्षमा कुन जिल्लामा कति घट्यो जनसंख्या

जनसंख्या घट्नेमा पहाडी जिल्ला रहेका छन् । जसमा कोसी प्रदेशका ९, गण्डकीका ८, बागमतीका ७, सुदूरपश्चिमका ५, लुम्बिनीका ३ र कर्णालीका २ जिल्ला छन्।

कोसीका पहाडी जिल्लाहरू भोजपुर, पाँचथर, खोटाङ, धनकुटा, ओखलढुंगा, इलाम, सोलुखुम्बु, पाँचथर र ताप्लेजुङको जनसंख्या २०६८ भन्दा घटेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले देखाएको छ। खोटाङमा ३१ हजार १४ जनाले कमी आएको छ। २०६८ मा २ लाख ६ हजार ३ सय १२ जना रहेकामा १ लाख ७५ हजार २ सय ९८ मा झरेको छ। भोजपुरमा २४ हजार ५ सय ३६ ले कम भएको छ। तेह्रथुममा १२ हजार ८ सय ४६, पाँचथरमा १९ हजार ४ सय १७, धनकुटामा १२ हजार ८ सय १३, ताप्लेजुङमा ६ हजार ८ सय ७१, ओखलढुंगामा ८ हजार ४ सय ३२, इलाममा १० हजार ७ सय २० र सोलुखुम्बुमा १ हजार ३५ ले कम भएको जनगणनाको तथ्यांकले देखाएको छ।

यस्तै बाग्मती प्रदेशको रामेछाप, दोलखा, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, र गोरखामा जनसंख्या घटेको पाइएको छ । रामेछापमा २०६८ सालमा २ लाख २ हजार ६ सय ४६ जना रहेकामा हाल १ लाख ७० हजार ३ सय २० जनामा झरेको छ । दोलखामा पनि जनसंख्या वृद्धिदर ऋणात्मक छ। २०६८ मा उक्त जिल्लाको जनसंख्या १ लाख ८६ हजार ५ सय ५७ थियो। हाल सो संख्या घटेर १ लाख ७२ हजार ७ सय ६७ मा झरेको छ।

काभ्रेमा ०.३९ प्रतिशतले घटेको छ। अघिल्लो जनगणनामा ३ लाख ८१ हजार ९ सय ३७ जनसंख्या रहेकोमा हाल घटेर हाल ३ लाख ६४ हजार ३९ जना रहेको पाइएको हो। यस्तै धादिङमा १० हजार ३ सय ५७ संख्या घटेको छ भने सिन्धुपाल्चोकमा २५ हजार १७४, नुवाकोटम १४ हजार १ सय जना, गोरखामा २० हजार ३४ संख्या घटेको छ ।

यस्तै गण्डकी प्रदेशको मनाङ, भोजपुर, स्याङ्जा, पर्वत, बागलुङ, लमजुङ, म्याग्दी, तनहुँमा जनसंख्या घटेको पाइएको छ ।

मनाङमा जनसंख्या वृद्धिदर २०६८ को जनसंख्या ६ हजार ५ सय ३८ रहेकोमा २०७८ मा घटेर ५ हजार ६ सय ५८ भएको छ। स्याङ्जामा २ लाख ८९ हजार १ सय ४८ बाट घटेर २ लाख ५३ हजार २४, पर्वतमा १ लाख ४६ हजार ५ सय ९० बाट घटेर १ लाख ३० हजार ८ सय ८७, बागलुङमा २ लाख ६८ हजार ६ सय १३ बाट घटेर २ लाख ४९ हजार २ सय ११ भएको छ।

लमजुङमा जनसंख्या १ लाख ६७ हजार ७ सय २४ थियो। अहिले १ लाख ५५ हजार ८ सय ५२ मा झरेको छ। म्याग्दीमा १ लाख १३ हजार ६ सय ४१ बाट घटेर १ लाख ७ हजार ३३ र तनहुँमा ३ लाख २३ हजार २ सय ८८ बाट घटेर ३ लाख २१ हजार १ सय ५३ भएको छ।

यस्तै लुम्बिनी प्रदेशमा गुल्मी, पाल्पा र अर्घाखाँचीको जनसंख्या घटेको छ। गुल्मीमा अघिल्लो पटक २ लाख ८० हजार १ सय ६० जनसंख्या थियो। १० वर्षपछि २ लाख ४६ हजार ४ सय ९४ भएको छ। यस्तै, दैलेखमा २ लाख ६१ हजार ७ सय ७० जनसंख्या रहेकोमा यसपालि ९ हजार ४ सय ५७ घटेर २ लाख ५२ हजार ३ सय १३ जनामा खुम्चिएको छ भने सल्यानको जनसंख्या २ लाख ४२ हजार ४ सय ४४ बाट घटेर २ लाख ३८ हजार ५ सय १५ मा झरेको छ।

सुदूरपश्चिमका अछाम, बैतडी, डोटी, डडेल्धुरा र बझाङ छन्। अछाममा २०६८ मा २ लाख ५७ हजार ४७७ जना रहेकामा २०७८ मा २ लाख २८ हजार ८ सय ५२ मात्रै कायम भएको छ।

डडेल्धुरामा १ लाख ४२ हजार ९४ जना रहेकामा यसपटक १ लाख ३९ हजार ६ सय २ जनामा सिमित भएका छन् । बझाङमा २०६८ मा १ लाख ९५ हजार १ सय ५९ रहेकोमा यसपालि १ लाख ८९ हजार ८५ जनाको मात्रै गणना भएको छ।

डोटीमा अघिल्लो पटक २ लाख २१ हजार ७ सय ४६ जना गणना भएकोमा यसपटक २ लाख ४ हजार ८ सय ३१ मा सीमित भएको छ भने बैतडीमा २०६८ मा २ लाख ५० हजार ८ सय ९८ गणना भएकोमा यसपालि २ लाख ४२ हजार १ सय ५७ गणना भएको छ।

यसैगरी, कर्णालीको दैलेख र सल्यान जिल्लामा जनसंख्या घटेको पाइएको छ । १० वर्षअघि दैलेखमा २ लाख ६१ हजार ७ सय ७० रहेकोमा यसपालि ९ हजार ४ सय ५७ घटेर २ लाख ५२ हजार ३ सय १३ जनामा खुम्चिएको छ। सल्यानको जनसंख्या २ लाख ४२ हजार ४ सय ४४ बाट घटेर २ लाख ३८ हजार ५ सय १५ मा झरेको छ।

नेपालका प्रत्येक राजनीतिक क्रान्तिमा सुरक्षादेखि आन्दोलन चलायमान गराउनमा युवाको भूमिका महत्वपूर्ण हुन्छ । तर यसरी जनसंख्या घटिरहने हो भने राज्यले ठूलो क्षती व्यहोर्नुपर्ने वैदेशिक रोजगार विज्ञहरु बताउँछन् ।

जनसंख्या घट्नुमा विभिन्न कारण रहेता पनि बैदेशिक रोजगारी र बसाइसराई मुख्य कारण रहेको विज्ञहरु बताउँछन् ।

११ महिनामा बाहिरिए झण्डै ७ लाख

चालु आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८५ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म ६ लाख ८५ हजार ६५२ जना नेपाली रोजगारीको लागि विदेश गएका छन् ।

जेठमा मात्र ७२ हजार ८ सय ६१ जना रोजगारीको खोजीमा विदेश गएका छन् । जसमा ६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला छन् । वैशाखमा ७० हजार ६३७ जना बाहिरिएका थिए । यो नयाँ श्रम स्वीकृती र पुन श्रम स्वीकृती लिनेको कूल संख्या हो ।

जेठमा कुन देशको लागि कति बाहिरिए ?

जेठमा विदेशिने नेपालीको रोजाइमा युएई परेको छ । युएईको लागि २० हजार ४२४ जनाले श्रम स्वीकृती लिएका छन् । यस्तै जेठ महिनामा दोस्रो रोजाइमा परेको देश साउदी अरेबिया हो साउदी अरेबिया हो । साउदी अरेबियाको लागि १३ हजार ३६६ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै, रोजाइको तेस्रो नम्बरमा कतार परेको छ । कतारको लागि एक महिनामा ११ हजार ९७३ जनाले श्रम स्वीकृती लिएका छन्।

यस्तै, मलेसियामा ८ हजार ७५२ जना, कुवेतमा ३ हजार ४३२ जना, क्रोएसियामा २ हजार ९२२ जना, रोमानियामा १ हजार ९४६ जना, जापान १ हजार ९३ जना साइप्रसमा ८९९, माल्टामा २८१ र प्रोचुगलमा १३९ जनाले श्रम स्वीकृती लिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।