ठेकेदार रमन कन्स्ट्रक्सनको ११ अर्ब ऋणको रेटिङ इक्राद्धारा खारेज

0
Shares

नेपालको सबैभन्दा ठूलो निर्माण (ठेकेदार) कम्पनीको रुपमा परिचित रमन कन्स्ट्रक्सन प्राइभेट लिमिटेडको ११ अर्ब ऋणको रेटिङ खारेज भएको छ। क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले पटक पटक फलोअप गर्दा पनि कम्पनीले कुनै सहयोग नगरेको भन्दै रमन कन्स्ट्रक्सनलाई कारबाही गर्दै रेटिङ खारेज गरेको हो । क्रेडिट रेटिङ विनियम २०११ बमोजिम कारबाही गरिएको इक्राले जनाएको छ ।

रेटिङ एजेन्सीले सम्बन्धित संस्थाले उपलब्ध गराएको जानकारीको विश्लेषण गरी समीक्षा र मूल्यांकन गर्छ । तर रमन कन्स्ट्रक्सनले धेरै फलोअपहरूको बावजुद मूल्याङ्कन जानकारीको लागि कुनै सहयोग नभएपछि एक अवधिका लागि मूल्यांकन फिर्ता गर्न ६ महिनाको समय दिँदा पनि कम्पनीले कर्जाको जोखिम परिवर्तन भएको कुनै जानकारी नदिएपछि रेटिङ फिर्ता लिइएको बताएको छ ।

यसअघि इक्रा नेपालले २०२३ को जनवरीमा रमन कन्स्ट्रक्सनले रेटिङ एजेन्सीलाई सहयोग नगरेको बताउँदै ‘इस्यूर नट कर्पोरेटिङको रेटिङ’ दिएको थियो । तर कम्पनीबाट सहयोग नभएपछि इक्राले रमन कन्स्ट्रक्सनलाई क्रेडिट रेटिङ विनियम २०११ बमोजिम कारबाही गर्दै सन् २०२४ मे मा रेटिङ खारेज गरेको जनाएको छ । मूल्याङ्कनमा अन्तिम पटक तोकिएको समयदेखि क्रेडिट रिस्क परिवर्तन भएको जानकारी दिने कुनै व्यवस्था नभएकाले इक्रा नेपालले रेटिङ फिर्ता लिएको उल्लेख गरेको छ ।

रमन कन्स्ट्रक्सनले बैंक ऋणका लागि सन् २०२२ को अप्रिलमा १० अर्ब ९४ करोड १४ लाख रुपैयाँ बराबरको कर्जा सीमाको रेटिङ गरेको थियो । तर रेटिङ सम्झौता अनुसार इक्रा नेपालले रमन कन्स्ट्रक्सनसँग सम्झौता अनुसार जानकारी लिन खोज्दा कम्पनीले गरेको बेवास्ताका कारण उक्त ऋणको रेटिङ नै खारेज भएको हो । कानून अनुसार बैंकिङ क्षेत्रबाट ५० करोड रुपैयाँभन्दा ऋण लिने कम्पनीले अनिवार्य रेटिङ गराउनुपर्ने व्यवस्था छ ।

रमन कन्स्ट्रक्सन सरकारबाट ‘क’ वर्गको निर्माण ठेकेदारको रुपमा काम गर्न इजाजत प्राप्त कम्पनी हो । ठूलामध्येको एक निर्माण व्यवसायीको रुपमा स्थापित यस कम्पनी सरकारले समयमै भुक्तानी नदिँदा गम्भीर आर्थिक संकटमा फस्न पुगेको हो । कम्पनीमा कार्यकारी निर्देशक रमन महतोको ४० प्रतिशत, पवन महतोको ४० प्रतिशत र बलराम महतोको २० प्रतिशत स्वामित्व छ । सन् १९९० मा एकल स्वामित्व फर्मको रूपमा प्रवद्र्धकहरूले स्थापना गरेको कम्पनीमा सन् १९९९ मा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको थियो ।

रमन कन्स्ट्रक्सनले सन् २०२१ मा ७३ वटा आयोजनामा ४० अर्ब रुपैयाँको ठेक्का पाएको थियो । रमन कन्स्ट्रनसँग सन् २०२१ सम्ममा ३९ अर्ब रुपैयाँ बराबरको थिए । त्यसमध्ये १६ अर्बको ११ वटा आयोजना एकल कम्पनीको मात्रै थियो भने बाँकी २२ अर्ब ७० करोड रुपैयाँका ६२ वटा जोइन्ट भेन्चर अन्तर्गतको आयोजना थियो । पाँच वर्षको अवधिमा कम्पनीले करिब २२ अर्ब रुपैयाँ बराबरका आयोजना सम्पन्न गरेको थियो । कम्पनीले सडक, विमानस्थल रनवे, पुल, रिभर प्रोटेक्सन र ट्रेनिङ काम, बिल्डिङ, रेल्वे, ढल व्यवस्थापन र खानेपानी क्षेत्रमा काम गर्दै आएको छ ।

सरकारबाट निर्माण व्यवसायीहरुले निर्माण सम्पन्न भएका आयोजनाहरुको मात्रै ५० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी प्राप्त गर्न बाँकी रहेको बताउँदै आएका छन् । सोही असरले रमन कन्स्ट्रक्सनले समेत नियमितरुपमा बैंकहरुको कर्जा भुक्तानी गर्न सकिरहेको छैन । नेपाल राष्ट्र बैंकले ५० करोडभन्दा बढीको ऋणको क्रेडिट रेटिङ गराउनुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्था लागू भएसँगै ५० करोड रुपैयाँभन्दा बढी ऋण लिने कम्पनीहरुले अनिवार्यरुपमा रेटिङ गराउँदै आएका छन् ।

३८ प्रतिशतले घट्यो आम्दानी

क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले गरेको विश्लेषण अनुसार सन् २०२० को तुलनामा रमन कन्स्ट्रक्सनको आम्दानी ३८ प्रतिशतले घटेको छ । सन् २०२० मा १ अर्ब ८० करोड २८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको रमन कन्स्ट्रक्सनको सन् २०२१ मा घटेर १ अर्ब ११ करोड ६२ लाख रुपैयाँमा आम्दानी सीमित भएको थियो ।

कम्पनीले २०१९ मा २ अर्ब ३ करोड २८ लाख रुपैयाँ, २०१८ मा १ अर्ब ७८ करोड ३१ लाख रुपैयाँ र २०१७ मा १ अर्ब ४५ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सन् २०१७ मा ह्रासकट्टी, ब्याज र कर अघिको नाफा १८.५० प्रतिशत रहेकोमा २०२१ मा आइपुग्दा बढेर २५ प्रतिशत पुगेको थियो । यस्तै कम्पनीको कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थ ४.२० बाट ४.५० गुणा पुगेको छ

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

। ऋण र ट्यान्जिबल नेटवर्थको अनुपात २.७० बाट ३.७० कायम भएको छ । इन्ट्रेस्ट कभरेज रेसियो ३.१० बाट १.४० प्रतिशतमा झरेको छ ।