मल्लिक आयोगको सिफारिस र सेबोन अध्यक्ष चयन बिथोलिँदा सेयर बजारमा चरम निराशा

0
Shares

कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले दिएको सुझावमा सेयर बजारको लाभकरमा हालको व्यवस्थाभन्दा अतिरिक्त कर असुल्न आएको सुझाव र नेपाल धितोपत्र बोर्ड (सेबाेन) को अन्तिम पाँच प्रतिस्पर्धीमध्ये प्रस्तुतीकरण तथा अन्तरवार्तामा तीन अनुपस्थित भएपछि त्यसको सोझो असर सेयर बजारमा परेको छ । सोही कारण पछिल्ला तीन कारोबार दिनमा मात्रै सेयर बजार सूचकनेप्से ४५ अंक बढीले घटेको हो ।

राज्यकोषमा २ खर्ब ९१ अर्ब राजस्व थप हुने पूर्व अर्थसचिव विद्याधर मल्लिक नेतृत्वको समितिले दिएको प्रतिवेदन अनुसार धितोपत्र खरिदबिक्रीको लाभमा ३६५ दिनभन्दा बढी अवधिको लागि ७.५ प्रतिशत र ३६५ दिन वा सो भन्दा घटी अवधिको हितको निसर्गमा १० प्रतिशत करको दर कायम गर्नसुझाव दिइएको छ । साथै कुल कारोबारको २ प्रतिशतका दरले न्यूनतम वैकल्पिक कर लगाउने व्यवस्था सुरु गर्न सुझाव प्रतिवेदनले दिएको छ । प्रतिवेदनमा प्राकृतिक व्यक्तिको ५० लाखभन्दा माथिको व्याज, लाभांश र दीर्घकालीन पुँजीगत लाभमा कर क्रमशः १० प्रतिशत पुर्याउनुपर्ने सुझाव पेश गरिएको छ । विसं २०८० चैतमा बुझाइएको उक्त प्रतिवेदनको २५ बुँदे सारांश सार्वजनिक भएसँगै त्यसको तरङ्गले सेयर बजार ओरालो लागेको हो ।

अर्कोतर्फ धितोपत्र बोर्डका अध्यक्षका पाँच प्रतिस्पर्धीमध्ये गत आइतबार सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनारायण श्रेष्ठ मात्रै अन्तरवार्ता तथा प्रस्तुतीकरणका लागि उपस्थित भए । अन्य तीन तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई, बोर्डका कार्यकारी निर्देशन डा. नवराज अधिकारी र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का सीईओ कृष्ण बहादुर कार्की प्रस्तुतीकरण तथा अन्तरवार्तामा सहभागी भएनन् । सेबोन अध्यक्षको लागि अन्तिम पाँचमा परेका सबैलाई राष्ट्रिय योजना आयोगको कार्यालयमा असार २ गते आइतबार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाइएको थियो ।

धितोपत्र सम्बन्धी ऐन २०६३ मा नै बोर्ड अध्यक्ष नियुक्तीका लागि कम्तीमा पनि तीन जनाको नाम सिफारिस गर्नुपर्ने भनेको छ। “(४) उपदफा (३) बमोजिमको समितिले नाम सिफारिस गर्दा यस ऐन बमोजिम योग्यता पुगेका कम्तीमा तीन जना व्यक्तिको नाम सिफारिस गर्नेछ,” धितोपत्र ऐनमा उल्लेख छ । प्रस्तुतीकरणमा सहभागी भएकाम्ध्येबाट कम्तीमा तीन जना नभए सिफारिस गर्न मिल्दैन । कार्यपत्र प्रस्तुतिमै दुई जनामात्र उपस्थित भएपछि सिफारिस समितिलाई कानुनी अप्ठ्यारो परेको छ । यहीकारण समितिले आइतबार कार्यपत्र प्रस्तुति तथा अन्तर्वार्तामा अनुपस्थित उम्मेदवारलाई असार ५ गते बुधबारका लागि सूचना जारी गरेको छ ।

अध्यक्ष छनोटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थसचिव र एक जना स्वतन्त्र विज्ञ सहितको तीन सदस्यीय सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सरकारले गत माघमै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । समितिले गत फागुनमै आवेदन आह्वान पनि गरेको थियो । यसमा १९ जनाले आवेदन दिएका थिए । आवेदन प्राप्त भएको एक महिनापछि गत चैतमा सिफारिस समितिले ५ जनालाई सर्टलिस्ट गरेको थियो । सोही समयमा अन्तरवार्ताका लागि बोलाइएपनि अन्तिममा रद्द भएको थियो । २o८o चैत २९ गते बिहीबार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताका लागि समय निर्धारण भएको थियो, तर अर्थमन्त्री वर्षमान पुनको निर्देशनले रोकिएको थियाे  ।

पौने १९ अंकले घट्यो सेयर बजार, कारोबार चार अर्बमा खुम्चियो

धितोपत्र बजार मंगलबार १८.७६ अंकले घटेको छ । यसअघि दुई दिन पनि निरन्तर घटेको सेयर बजारको घटाई आज थप बढेको हो । आइतबार अंक ९.३२ र सोमबार पनि बजार १७.०४ अंकले ओरालो लागेको थियो । तीन दिनमा ४५.१२ अंकले नेप्से घटेको छ। सेयर बजारलाई आयकर बढ्ने कुराले लगानीकर्तामा त्रासदी पैदा गराएको हो । बजार घटेसँगै साढे ६ अर्बकाे काराेबार घटेर ४ अर्बमा संकुचित बनेकाे  छ ।

मंगलबार कारोबारमा आएका १३ ओटै उपसमुहगत सूचक घटेका छन् भने कारोबारमा आएका ३१७ कम्पनीमध्ये २३४ ओटाको मूल्य घटेको छ । यसदिन ६६ ओटाको मात्र मूल्य बढेको छ भने १७ ओटाको मात्रै स्थिर छ । सेयर बजारका लगानीकर्ताको मनोबल कमजोर हुँदा नेप्से ०.८९ प्रतिशतले घटेर २०७६.४९ बिन्दुमा झरेको छ । यसदिन ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर५८ हजार ११९ पटक किनबेच हुँदा ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १३ वटै उपसूचक ऋणात्मक बनेका छन् । बैंकिङ १.१६ प्रतिशत, फाइनान्स १.०४, जीवन बीमा ०.९८, विकास बैंक ०.८७, जलविद्युत ०.८७, निर्जीवन बीमा ०.८३, होटल तथा पर्यटनमुलक ०.७२ प्रतिशतले घटेको छ ।

आजको बजारमा बरुण हाइड्रोपावरको शीर्ष कारोबार भएको छ । कम्पनीको ११ करोड २८ लाख रुपैयाँ बराबरका ३ लाख ६२ हजार १२४ कित्ता सेयर किनबेच भयो । यस्तै सिईडिबि हाइड्रोपावरको ११ करोड १४ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १० करोड ३७ लाख, ग्लोबल आइएमई लघुवित्तको ९ करोड ३१ लाख र माण्डू हाइड्रोपावरको ९ करोड २२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी आजको बजारमा समाज लघुवित्तका लगानीकर्ता मालामाल बनेका छन्। लघुवित्तको मूल्य दश प्रतिशतले बढेर २४०९ रुपैयाँ पुगेको छ । यस्तै माण्डू हाइड्रोपावरको ७.८३, वीन नेपाल लघुवित्तको ६.२०, दिब्यश्वरी हाइड्रोपावरको ४.८६, र एनआईसी एशिया ब्यालेन्स्ड फन्डको मूल्य ३.९३ प्रतिशतले बढेको छ ।

मंगलबार मनकामना स्मार्ट लघुवित्त र कुथली बुखरी स्मल हाइड्रोपावरका सेयरधनीले सर्वाधिक गुमाएका छन् । दुबैका लगानीकर्ताले यसदिन दश प्रतिशतका दरले गुमाउँदा मनकामनाको प्रतिकित्ता मूल्य १६२० र कुथलीको १५५७ रुपैयाँमा झरेको छ । यसैगरी बाराही हाइड्रोपावरको ६.०१, भगवती हाइड्रोपावरको ४.७१ र मेन्छियम हाइड्रोपावरको ४.०९ प्रतिशतका दरले मूल्य घटेको हो ।

मंगलबार सेयर बजारको कुल बजार पुँजीकरण ३२ खर्ब ९२ अर्ब ६९ करोड ५३ लाख रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २९ अर्ब ७० करोड २४ लाख रुपैयाँ कम हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।