अत्यावश्यक सेवामा बन्द र हडताल गर्न निषेध, यी हुन् २५ अत्यावश्यक सेवा

0
Shares

सरकारले २५ वटा सेवालाई अत्यावश्यक भन्दै बन्द र हडताल गर्न निषेध गरेको छ।

गृह मन्त्रालयले राजपत्रमा सूचना जारी गरेको आदेशअनुसार ती सेवामा बन्द र हडताल गर्न पाइनेछैन । यदि बन्द हडताल गरेमा अत्यावश्यक सेवा सञ्चालन ऐनअनुसार कारबाही हुनेछ।

यी हुन् २५ अत्यावश्यक सेवा

बन्द हडताल गर्न नपाएने सेवामा डाँक, तार वा टेलिफोन सेवा, जलस्थल वा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाइ अड्डा वा हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा रहेका छन्।

त्यसैगरी हवाइ ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवालाई अत्यावश्यक मानिएको छ।

गृह मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थ (एलपी ग्याससमेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्स सेवाजस्ता सेवाहरु) अत्यावश्यक हुनेछन्।

यसबाहेक सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चलन तथा वितरण सेवा, पर्यटन आवास, मोटेल, होटल, रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवा पनि अत्यावश्यकमा परेका छन्।

यस्तै औषधि निर्माण तथा बिक्रीवितरणसम्बन्धी सेवा, फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा, बैंकिङ सेवा, बिमा सेवा, विद्युत् सेवा पनि अत्यावश्यक सूचीमा अटाएका छन्।

दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी, ढुवानी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा, मास्कसम्बन्धी सेवा, ह्यान्ड सेनिटाइजरसम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा र इन्टरनेट अत्यावश्यक सेवामा परेका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।