विश्व किसान संगठनको सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित


एफएओको मुख्यालय इटालीको रोममा भएको विश्व भरका किसानहरुको छाता संगठन विश्व किसान संगठनको सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित भएका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहेका पाठक एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित भएका हुन् ।

पाठक सहित विश्व किसान संगठनको सञ्चालकमा विश्वभरबाट ६ जना निर्वाचित भएका छन् । विश्वभरका सक्रिय किसान संघ संगठनहरुको छाता संगठनका रुपमा रहेको विश्व किसान संगठनमा नेपालको तर्फबाट सञ्चालक समितिमा निर्वाचित हुने पाठक पहिलो व्यक्ति हुन् ।

किसान र कृषि क्षेत्रको रुपान्तणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको विश्व किसान संगठनको उच्चतह सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनु आफैमा खुसी र गौरवको कुरा भएको नेपाल कृषि सहकारी केन्द्रीय संघले जनाएको छ ।

गरिबी निवारण, साना किसानको समृद्धि, ग्रामीण अर्थतन्त्र सुधार सहित महिला नेतृत्व विकासका क्षेत्रमा सहकारी अभियान र साना किसान अभियानमार्फत निरन्तर सक्रिय खेम बहादुर पाठक इटालिको रोममा भएको विश्व किसान संगठन को महासभा २०२४ को सदस्य संगठनहरूको चुनावमा सर्वसम्मतले निर्वाचित भएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।