राष्ट्र बैंकले ५० अर्ब माग्दा ७४ अर्ब दिन बैंकहरु तयार, शुक्रबार ४० अर्ब तरलता खिच्दै

0
Shares

वित्तीय प्रणालीमा अधिक तरलताको भएपछि नेपाल राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा सकस परेको छ । विहीबार निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब तरलता खिचेको राष्ट्र बैंकले शुक्रबार सोही उपकरण मार्फत १४ दिनको लागि ४० अर्ब तरलता खिच्ने भएको हो।

राष्ट्र बैंकले अल्पकालिन ब्याजदरको उतारचढाव नियन्त्रणका लागि निक्षेप संकलन उपकरणको प्रयोग गर्ने गरेको छ । स्थायी निक्षेप सुविधा मार्फत वित्तीय प्रणालीको तरलता र अन्तर बैंकदर व्यवस्थापन नभएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत वित्तीय प्रणालीको थप तरलता खिच्न लागेको हो ।

विहीबार केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब तरलता खिचेको छ । २१ बैंक तथा वित्तीय संस्थाहरुले ७५ आवेदन मार्फत ७४ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन उपकरणमा राख्न चाहे पनि राष्ट्र बैंकले औसत ३.०५३७ ब्याजदरमा ५० अर्ब रुपैयाँ मात्र लिएको छ । बैंकहरुले न्यूनतम २.९९९ प्रतिशत देखि अधिकतम ३.१००० प्रतिशतसम्मको ब्याजदर माग गर्दै बोल गरेका थिए ।

आर्थिक गतिविधिमा आएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न सकेको छैन । कर्जाको माग नबढेको भएपनि रेमिट्यान्स आप्रबाहमा आएको सुधारका कारण निक्षेप भने बढी राखेको छ । वित्तीय प्रणालीमा निक्षेप बढेसंगै तरलता पनि बढी भएको छ । तरलता धेरै भएसंगै अन्तर बैंकदर समेत घटेको अवस्थामा छ ।

केन्द्रीय बैंकले तरलता र व्याजदर व्यवस्थापनका लागि विभिन्न वित्तीय औजार मार्फत अधिक तरलता खिच्ने गर्छ । साथै वित्तीय प्रणालीमा तरलता बढेपछि अन्तर बैंक घट्ने गर्छ । केन्द्रीय बैंकले अल्पकालिन ब्याजदरमा आउने उतारचढाव नियन्त्रणका लागि अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल आएको खण्डमा निक्षेप संकलन उपकरण जारी गर्छ । केन्द्रीय बैंकले निक्षेप संकलन जारी गरेर वित्तीय प्रणालीको अधिक तरलता खिच्नुका साथै अन्तर बैंकदर पनि बढाउछ ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले अधिक तरलतालाई स्थायी निक्षेपको रुपमा ४ दिनका लागि केन्द्रीय बैंकमा राख्दै आएका छन । स्थायी निक्षेप सुविधा मार्फत अन्तर बैंकदर नबढेपछि केन्द्रीय बैंकले बिहीबार निक्षेप संकलन मार्फत पनि तरलता खिचेर अन्तर बैंकदर बढाउन खोजेको हो । तर अन्तरबैंकदर अझै ३ प्रतिशत तल रहेपछि केन्द्रीय बैंकले शुक्रबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत खिच्न लागेको हो ।

गत बुधबार मात्रै केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा (एसडिएफ) मार्फत २८ अर्ब १० करोड तरलता खिचेको थियो । बैंक वित्तीय संस्थाले अधिक तरलता भएपछि उक्त रकम ३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा राखेका हुन । खासगरी बैंकहरुले सातामा २ पटक आइतबार र बुधबार स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउने राष्ट्र बैंकको व्यवस्था छ। सोहि अनुसार बैंकहरुले बढी भएको निक्षेप राष्ट्र बैंकमा राख्ने गरेका छन्।

केन्द्रीय बैंकका अनुसार बैंकहरुको अन्तर बैंक कारोबार दर २.९५ प्रतिशत रहेको छ । त्यसैगरी असार ५ गते बुधबारसम्म बैंकिङ प्रणालीमा ६८ अर्ब ४५ करोड अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अधिक छ। बैंकहरुको सिडि रेशियो ८०.०८ प्रतिशतमा झरेको छ।

बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या झनै जटिल बन्दै गएपछि स्थाई निक्षेप सुविधा (एसडिएफ) मार्फत बैंकहरुले रकम जम्मा गर्दा समेत तरलता नघटेपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण समेत जारी गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर नै ब्याजदर करिडोरको तल्लो सीमा हो । पछिल्ला दिनहरुमा निक्षेप संकलनको ब्याजदर ३ प्रतिशत हाराहारीमा रहेको छ । तर, अन्तर बैंक ब्याजदर भने ३ प्रतिशत भन्दा तल झरेको छ ।

अर्थतन्त्रमा देखिएको मन्दीको अवस्थाले कर्जाको मागमा वृद्धि हुन नसक्दा बैंकिङ्ग प्रणालीमा निक्षेप थपिने क्रम बढ्दो छ भने कर्जाको माग बढ्न सकेको छैन । यसले केन्द्रिय बैंकलाई ब्याजदर करिडोर कायम गर्न निक्षेप बोलकबोल गर्नुपर्ने अवस्था समेत सृजना भएको हो । बैंकहरूको कर्जा लगानी बढ्न नसकेकै कारण स्थायी निक्षेप संकलन सुविधाको प्रयोग बढ्न थालेको हो। बैंकहरूको कर्जाको ब्याजदर घट्दो क्रममा रहे पनि कर्जा लगानी बढ्न सकेको छैन।

उद्यमीहरूलाई पछिल्लो समय राज्य संयन्त्रबाटै हतोत्साहित हुने खालका काम हुँदा निजी क्षेत्रले थप कर्जा लगानी बढाउने मनस्थितिमा छैनन् भने ऋण लिएका लगानीकर्तालाई ब्याज भुक्तानी गर्न नै कठिन अवस्था छ । देशको आर्थिक अवस्थालाई लिएर विकास भएको नकारात्मक भाष्यले उपभोक्ता बजार सुस्ताएको छ । यसलाई सुधार नगरि कर्जाको मागमा उल्ल्खनीय सुधार नआउने बुझाई बैंकरहरुको छ ।

आम उपभोक्ता, उद्यमी र सर्वसाधारण माझ नेपालको अर्थतन्त्र धराशायी अवस्थामा छ भन्ने बुझाई कायमै छ । यसले अलिले खर्च र लगानी गर्ने बेला होइन भन्ने धारणाको विकास भएको पाइन्छ । जसले गर्दा माग र आपूर्ति शृंखला बिथोलिएको छ । बजारमा माग कमजोर बन्दा जसको प्रभाव समग्र अर्थतन्त्रमा परेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।