विदेश जानेलाई रोक्न सकिँदैन : मन्त्री अर्याल


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेश जानेलाई रोक्न नसकिने बताएका छन् । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा बोल्दै उनले विदेश जानेलाई रोक्न सकिँदैन तर फर्किएकालाई मात्रै रोक्न सके त्यो ठूलो कुरा हुने बताए ।

उनले आन्तरिक रोजगारी सिर्जना गर्ने काममा मन्त्रालय गम्भीर रहेको बताउँदै भने, ‘विदेश जानेलाई रोक्न सकिँदैन तर फर्किएकालाई मात्रै रोक्न सके त्यो ठूलो कुरा हुनेछ । फर्केकालाई व्यवस्थापन गर्न कार्यक्रम ल्याउँदै छौँ ।’

यस्तै उनले श्रम स्वीकृतिमा बेथिति देखिएकाले एक घण्टामै श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताएका छन् । ‘वैदेशिक रोजगारीमा जाने सोझा नागरिक आफ्नो सम्पत्ति बेचेर गइरहेका हुन्छन् । उनीहरुलाई बिचौलियाले ठग्ने गरेको छ,’मन्त्री अर्यालले भने, ‘ठग्ने प्रवृत्ति अन्त्य गर्न यो निर्णय गर्यौं । ‘फ्रि भिसा फ्रि टिकट’ मा पनि ब्रह्मलुट छ । यसको नीतिमा पनि काम गरिरहेका छौँ ।’

मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमको नयाँ ‘मोडालिटी’ ल्याउन गृहकार्य भइरहेको बताए । उनले भने,’यो कार्यक्रमबारे पुनःविचार गर्नुपर्छ भनेर काम भइरहेको छ । कम्तीमा यो कार्यक्रमले सीप विकास र उद्यमशीलतासँग जोड्न सक्नुपर्छ ।’

मन्त्रालयका सचिव घनश्याम उपाध्यायले रोजगार बैंकको अवधारणामा मन्त्रालय अघि बढेको बताए । उनले भने,’हामीले गरेका काम प्रचार गर्न सकेका छैनौँ । श्रमाधान रोजगार मेला सातै प्रदेशमा सम्पन्न भएको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको स्थापना गरेका छौँ ।’

बैठकमा श्रम तथा रोजगार, श्रमिक तथा कामदार, वैदेशिक रोजगार, सामाजिक सुरक्षाको अवस्था नीति, कानुन, संरचनालगायतमा मन्त्रालयबाट भएका काम कारबाही, समस्या, भावी कार्ययोजनालगायत विषयमा छलफल भएको थियो ।

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले नकारात्मकभन्दा सकारात्मक पाटोमा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘नेपालभित्रै काम गरिरहेका सफल व्यवसायीको पनि प्रचारप्रसार गर्नुपर्छ जसले गर्दा अरुलाई प्रोत्साहन मिलोस् ।

समितिका सदस्यहरुले आन्तरिक रोजगारी सिर्जना गर्न कार्यक्रम ल्याउनुपर्ने, म्यानपावर कम्पनीहरुको कडा अनुगमन हुनुपर्ने, युवालाई विदेश जान रोक्ने कार्यक्रम ल्याउनुपर्नेलगायतका धारणा राखे ।

सांसद विष्णुकुमारी सापकोटाले नेपालमै रोजगारीको व्यवस्था गर्न आन्तरिक स्रोतको भरपुर उपयोग गर्न सकिने बताइन् । उनले भनिन्,’आन्तरिक स्रोत खोजी गर्नुपर्छ । आफ्नै देशमा रोजगारीको व्यवस्था गर्न सकिन्छ । लोकल मदिराको ब्रान्डिङ गर्न सकिन्छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबारे पुर्नविचार गर्नुपर्छ ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ असार २०८१, शुक्रबार  ०६ : ३३ बजे