वित्तीय प्रणालीको अधिक तरलताको समस्या झनै जटिल बनेको छ । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन उपकरण मार्फत २ खर्ब बराबरको तरलता खिच्दा पनि व्यवस्थापन हुन नसकेको हो ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता र ब्याजदर व्यस्थापनका लागि स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरकणको प्रयोग गर्दै आएको छ । तर, चालु आर्थिक वर्ष समाप्तिको अन्तिम महिना भएकाले पनि कर्जा लगानी ठप्प छ भने असुलीले निक्षेप बढ्ने क्रम जारी छ । त्यसले गर्दा पनि वित्तीय प्रणालीमा अधिक तरलताको समस्या झनै जटिल बन्दै गएको स्पष्ट हुन्छ ।
आर्थिक वर्षको अन्तिम महिनामा बैंक तथा वित्तीय संस्थाले कर्जाको माग आएको खण्डमा पनि प्रबाह गर्न चाहदैनन । त्यसका साथै पुराना कर्जाको असुलीलाई तिब्रता दिने गर्छन । त्यसले गर्दा पनि वित्तीय प्रणालीमा तरलता थुप्रिएको हो । प्रणालीमा तरलता थुप्रिएपछि अल्पकालिन ब्याजदर अर्थात अन्तर बैंक दर घट्न थाल्यो । केन्द्रीय बैंकले अन्तर बैंक दरलाई अस्वभाविक घट्न वा बढ्न नदिन तरलता खिच्ने र पठाउने गर्छ । ब्याजदरलाई स्थायीत्व दिनका लागि प्रयोगमा ल्याएको ब्याजदर करिडोरको कार्यान्वयनका लागि पनि केन्द्रीय बैंकले अन्तर बैंक दर घट्न दिदैन । अन्तर बैंक दर घट्ने अवस्था आएको खण्डमा केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत तरलता खिचेर अन्तर बैंक दर बढाउने गर्छ ।
केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमालाई निक्षेप संकलन उपकरणको ब्याजदर तोकेको छ । निक्षेप संकलन उपकरणको ब्याजदर ३ प्रतिशत छ । अन्तर बैंक दर सो भन्दा तल आएको खण्डमा केन्द्रीय बैंकले निक्षेप संकलन मार्फत तरलता खिचेर अन्तर बैंक दर बढाउछ ।
वित्तीय प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले यो साताका पछिल्लो ३ दिनमा मात्रै ९० अर्बको निक्षेप संकलन र ५० अर्ब ५२ करोडको स्थायी निक्षेप सुविधा मार्फत तरलता खिचेको थियो । सो मध्ये आइतबारको २२ अर्ब १५ रुपैयाँ बरावरको स्थायी निक्षेप सुविधा ४ दिनमा नै परिपक्क भयो । गत बिहीबारको २८ अर्ब १० करोड रुपैयाँको स्थायी निक्षेप सुविधा भने परिपक्क हुन बाँकी छ । यो संगै केन्द्रीय बैंकसंग वित्तीय प्रणालीको एक खर्ब ८१ अर्ब ५५ करोड रुपैयाँ बक्यौता छ ।
केन्द्रीय बैंकले तरलता खिच्नका लागि बिहीबार १४ दिन अवधिको ५० अर्बको निक्षेप संकलन उपकरण जारी गरेको थियो । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले ७४ अर्ब २० करोड रुपैयाँ दिन खोजेका थिए । बिहीबारको निक्षेप संकलन उपकरणमा अधिक माग भएपछि केन्द्रीय बैंकले शुक्रबार पनि ४० अर्बको निक्षेप संकलन जारी ग्रयो ।
केन्द्रीय बैंकले शुक्रबार ४० अर्ब रुपैयाँ बरावरको १४ दिन अवधिको निक्षेप लिन चाहेको भएपनि बैंक तथा वित्तीय संस्थाले भने ५५ अर्ब ३५ करोड रुपैयाँ दिन चाहे । बैंकहरुले धेरै दिन चाहेको भएपनि केन्द्रीय बैंकले भने बिहीबारको भन्दा सामान्य धेरै ब्याजदरमा ४० अर्ब रुपैयाँ बरावरको निक्षेप लियो । शुक्रबार पनि निक्षेप संकलनमा आएको अधिक आवेदनले वित्तीय प्रणालीको अधिक तरलता अझै पनि व्यवस्थापन नभएको संकेत गर्छ ।
शुक्रबार पनि बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकलाई निक्षेप दिदाँ अधिकतम ३.१००० र न्यूनतम २.९९०० प्रतिशत ब्याज माग गरेका छन् । यसको औसत ब्याजदर ३.०६८३ प्रतिशत कायम भएको छ । यो औसत ब्याजदर बिहीबारको भन्दा सामान्य धेरै हो । बिहीबार बैंक तथा वित्तीय संस्थाले अधिकतम ३.१००० र न्यूनतम २.९९९ प्रतिशत ब्याजदर मागेका थिए । यसको औसत ब्याजदर ३.०५३७ प्रतिशत कायम भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया