आईडीए काठमाडौँ बैठकको निस्कर्षः गरिब मुलुकका लागि ऐतिहासिक रुपले ठूलो आर्थिक प्याकेज जरुरी

0
Shares

नेपालमा बसेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठकले आगामी सन् २०२५ देखि ०२८ सम्म तीन वर्षका लागि गरिब र विकासमा पछि परेका मुलुकहरुका लागि सहयोग रणनीति तथा सहयोगका क्षेत्र निर्धारण गरेको छ ।

बैठकले ती (आईडीए) मुलुकहरुका लागि तीन वर्षे रणनीतिको खाका तयार पारेको हो । बैठकमा तीन दिनसम्म चलेको प्राविधिक शत्र (बन्दशत्र) मा आईडीए देशहरुको वित्तिय परिदृष्य (फाइनान्सियल सिनारिओ) सम्बन्धमा गहन छलफल गरिएको थियो ।

यस्तै बन्दशत्रमा आगामी तीन वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र र त्यसको रणनीतिको ढाँचा, आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृपक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्चपदस्थ पदाधिकारीहरुबीच गहन छलफल भएको थियो ।

बैठकले विश्व अर्थतन्त्रमा उत्पन्न चुनौती र आईडीए मुलुकहरुका विकासको आकांक्षा सम्बोधन गर्न एतिहासिक रुपले ठूलो आर्थिक प्याकेज जरुरी रहेको निस्कर्ष निकालेको छ ।

बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयद्वारा गठित सचिव आयोजक समितिअन्तर्गतको व्यवस्थापन तथा समन्वय समितिसंयोजक एवं मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालले गरिब र कम विकसित मुलुकका लागि बैठकका उपलब्धी एतिहासिक हुने बताए । ‘पहिला आईडीएले इन्पुटमा आधारित रणनीतिमा टेकेर काम गरेको थियो’, उनले भने, ‘अब नतिजालाई आउटपुटमा आधारित बनाएर जाने सैद्धान्तिक सहमति भएको छ ।’

बैठकले आईडीए मुलुकका जनताका लागि विद्युत र सूचना प्रविधिमा पहुँच तथा अवसरको वातावरण बनाउने प्रारम्भिक रणनीति तय गरेको छ । यसअघि अवसर सिर्जना गर्ने सूचीमा रहेको शिक्षा र स्वास्थ्यमा भने अब गुणस्तर वृद्धिमा जोड दिने रणनीति आईडीएले अघि सारेको उनले बताए ।

आईडीएले समावेशी विकासको नीतिमा जोड दिँदै लैंगिक विभेद अन्त्य तथा महिलालाई मुलप्रवाहीकरणमा समावेश गर्न थप कार्यक्रम एवं रणनीति बनाउनेछ । महिलालाई मुलप्रवाहीकरणमा समावेश गर्न शैक्षिक र आर्थिक स्तरमा विकास तथा निर्णय प्रक्रियामा सहभागिता बढाउनुपर्ने आईडीएको निस्कर्ष छ । विश्व बैंकको आगामी अक्टुबरमा हुने बैठकमा आईडीएका निस्कर्षहरुबारे थप छलफल हुनेछ भने आगामी मंसिर २५ र २६ गते (डिसेम्बर १०–११) मा दक्षिण कोरियामा हुने आइडीए २१ को अन्तिम बैठकले तीन वर्षे रणनीति कार्यान्वयनमा लैजाने औपचारिक निर्णय गर्नेछ ।

राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको बैठकको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए। शुक्रबार अर्थमन्त्री वर्षमान पुन अनन्तले बैठक समापन गरे ।

विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम हो । बैठकमा सहभागी हुन विश्व बैंकका वरिष्ठ प्रबन्धनिर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित आधा दर्जन बढी उपाध्यक्ष र निर्देशकहरु सहभागी थिए । यस्तै ६१ देशका करिब २ सयभन्दा बढी प्रतिनिधि बैठकका लागि आएका थिए ।

बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको थियो ।

विश्व बैंकले सन् १९६० मा स्थापना गरेको आईडीए विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको अग्रणी निकाय हो । यसले विकासमा पछि परेका तथा न्यून आय भएका गरिब मुलुकका लागि सहुलियतपूर्ण ऋण, अनुदान तथा बहुपक्षीय सहायता उपलब्ध गराउँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।