तस्करी मौलाउँदा खाद्यान्नको आयात पौने ९ अर्ब रुपैयाँले घट्यो


नेपालमा तेस्रो मुलुकबाट आउने खाद्यान्नको आयात पौने ९ अर्ब रुपैयाँले घटेको छ । अवैध रूपमा खाद्यान्न आउने गरेकोले वैधानिक रूपमा चामलको आयात घटेको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष (२०८०\८१) को ११ महिनामा ४३ अर्ब ८० करोड १९ लाख रुपैयाँ बराबरको खाद्यान्न (धान, मकै, चामल, गहुँ, जौ, कोदो) आयात भएको छ ।

गत वर्ष सो अवधिमा ५२ अर्ब ६५ करोड ५३ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो । एक वर्षमा खाद्यान्नको आयात ८ अर्ब ८५ करोड २४ लाख रुपैयाँले घटेको हो । यता, खाद्यान्न आयात घटेको नभई दुई नम्बरी धन्दा मौलाएको उपभोक्ता हित संरक्षण मञ्च नेपालकाअध्यक्ष प्रेम लाल महर्जन बताउँछन् ।

खाद्यान्न आयात घट्नलाई नेपालमा उत्पादन बढ्नु पर्ने बताउँदै उनले भने, ‘नेपालमा उत्पादन नै नबडि खाद्यान्नको आयात मात्र घट्छ भने त्यो त आयात घटेको होइन तस्करीहरु मौलाएका हुन् ।’

यसपालि धान ४ लाख मेट्रिक टन मात्र बढी उत्पादन भएको भन्दै उनले त्यति उत्पादन हुँदा आयात नै घट्ने अवस्था आउँदै नआउने बताए । स्थानीय उत्पादनमा वृद्धि हुनुका साथै आन्तरिक बजारमा खपत घटेकाले पनि खाद्यान्न आयातमा कमी आएको बताइएको छ ।

विभागका अनुसार ११ महिनामा नेपालमा सबैभन्दा धेरै मकै आयात गर्ने गरिएको छ । चालु आवको एघार महिनामा १३ अर्ब २७ करोड ३२ लाख ४० लाख रुपैयाँको मकै आयात भएको हो ।

यस्तै चामलपछि सबैभन्दा धेरै आयात हुने खाद्यान्न धान हो । एघार महिनामा ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँको धान, आयात भएको छ । यस्तै, आठ अर्ब ६९ करोड १६ लाख रुपैयाँ बराबरको चामल आयात हुँदा तीन अर्ब ५७ करोड २४ लाख रुपैयाँको गहुँ, ६८ करोड १९ लाख ५९ हजार रुपैयाँको कोदो र ३१ करोड ८५ लाख रुपैयाँको जौ आयात भएको छ । नेपालमा अर्जेन्टिना, भारत, थाइल्यान्ड, ब्राजिल, चीन, टर्कीलगायत मुलुकबाट मकै आयात गर्ने गरिएको छ ।

किन मौलाए तस्करी ?

सरकारले आर्थिक वर्ष (आव) २०८१\८२ को बजेटसँगै ल्याएको आर्थिक विधेयकमार्फत विदेशबाट व्यापारिक प्रयोजनका लागि खाद्यान्न आयात गर्दा १ दशमलव ५ देखि १० प्रतिशतसम्म भन्सारमै अग्रिम आयकर लिने व्यवस्था गरेको छ ।

सरकारले जेठ १५ देखि लागू हुने गरी धान आयातमा २ प्रतिशत र दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर लगाएको छ । यसअघि यस्तो कर वस्तुअनुसार बढीमा ५ प्रतिशतसम्म थियो ।

यसरी खाद्यान्नमा आयकर लगाउँदा भन्सार छल्नेहरुको संख्या बढ्दै गएको अध्यक्ष महर्जन बताउँछन् । तस्करी नियन्त्रण गर्ने हो भने सरकाले अग्रीम आयकर फिर्ता लिनु पर्ने उनको तर्क छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।