निलम्वित मुख्य सचिव अर्याल योजना आयोगमा सरुवा


सरकारले निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो ।

उनी निलम्बनमा परेपछि निमित्त मुख्य सचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई दिइएको छ । गड्तौला प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुख्यसचिव डा. बैकुण्ठ अर्याललगायत १२ जनाविरुद्ध अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उनलाई उक्त पदमा सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

त्यस्तै सरकारले आर्थिक वर्ष २०८०–०८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।