परिसंघ र नेपालका लागि बेलायती राजदुतबीच आर्थिक सम्बन्ध बिस्तारमा छलफल


नेपाल उद्योग परिसंघ र नेपालका लागी बेलायती राजदुत रब फेनबीच द्धिपक्षिय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिवृद्धिमा छलफल भएको छ । परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल इन बिजनेस’ लगायत नयाँ कार्यक्रमबाट नेपालले महत्वपूर्ण उपलब्धी हासिल गर्ने बताए ।

परिसंघले सरकारसँगको सहकार्यमा ‘मेक इन नेपाल स्वदेशी’ अभियान संचालन गरिरहेको जानकारी दिँदै बेलायती दूतावाससँग सहकार्यका लागि परिसंघ तयार रहेको अग्रवालले बताए । उनले बेलायतसँग नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटामा रहेको उल्लेख गर्दै नेपाली वस्तुहरुलाई बेलायती बजारमा प्रतिस्पर्धा गर्न आवश्यक सहयोग गर्न राजदूतलाई आग्रह गरे ।

नेपालको पूर्वाधार, विद्युत तथा नविकरणीय उर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा बेलायती लगानीकर्ता भित्र्याउन भूमिका खेल्न आग्रह गर्दै उनले बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौतामा जोड दिए ।

छलफलमा नेपालका लागी बेलायती राजदुत फेनले नेपालमा आर्थिक गतिविधिहरु संचालन गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न र दुई देशबीचको नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्न बिजुली उत्पादन, ऊर्जा, प्रविधि, पर्यटन र कृषि व्यवसाय क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । नेपाल इन बिजनेसजस्ता पहलहरूमार्फत नेपालसँगको आर्थिक साझेदारीलाई बलियो बनाउन बेलायत प्रतिबद्ध रहेको बताए । छलफलमा परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष वीरेन्द्रराज पाण्डेलगायत सहभागी थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।