नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामाको उडान प्रतिबन्ध फुकुवा


नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। तीन साता अगाडि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षामा गम्भीर आँच आउने गतिविधि गरेको भन्दै लामालाई उडानमा रोक लगाएको थियो। लामा वाइडबडी ए ३३० को आइपी पाइलट हुन्।

उनलाई प्राधिकरणले २५ हजार जरिबाना तिराएर प्रतिबन्ध फुकुवा गरेको हो। प्राधिकरणका अनुसार लामाले अब हवाई सुरक्षामा आँच आउने गतिविधि नगर्ने प्रतिबद्धता गरेका छन्।

लामाले आफूले नियत नै राखेर कुनै पनि काम नगरेको तर त्यसले हवाई सुरक्षामा आँच आउन सक्ने प्राधिकरणको ठहरलाई सम्मान गर्ने समेत बयानमा बताएका थिए। लामाको प्रतिबद्धतापछि उडानमा लागेको प्रतिबन्ध फुकुवा भएको प्राधिकरणको भनाइ छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा प्राधिकरणले निर्धारण गरेका मापदण्ड तथा सिफारिसको परिपालना नभएको अभियोगमा प्राधिकरणले उड्डयन सुरक्षा विभागका निर्देशक विक्रमराज गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो। उक्त छानबिन समितिले निष्कर्ष बमोजिम क्याप्टेन लामालाई जरिवाना र गल्ती नदोहोर्‍याउने सर्तमा उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।