धानदिवस : उत्पादन हुने क्षेत्रफल घट्दै, एघार महिनामा २० अर्बको धान-चामल आयात


आज असार १५ । राष्ट्रियधान दिवस । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुक भरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको हो ।

किसानको मलोबल उच्च राख्नको लागि सरकारले वर्षौनी विभिन्न नाराका साथ धान दिवस मनाएता पनि धान उत्पादन हुने क्षेत्रफल भने घट्दै गएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अघिल्लो आवको तुलनामा यो वर्ष धान बाली लगाइएको क्षेत्रफल घटेको छ ।

मन्त्रालयका अनुसार अघिल्लो आवको तुलनामा यो वर्ष धान उत्पादन हुने जमिन ८ हजार ८ सय हेक्टर कम भएको छ । यो अघिल्लो बर्षको तुलनामा ०.६१ प्रतिशत कम हो । यो वर्ष कुल धान बाली भित्राइएको क्षेत्रफल १४ लाख ३८ हजार ९ सय ८९ हेक्टर रहेको मन्त्रालयले जनाएको छ । यो गतचार आवको औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशत कम हो ।

तर, चालु आर्थिक वर्ष (आव) २०८०\८१ मा धानको उत्पादन ४.३३ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ । कृषि मन्त्रालयका अनुसार यो वर्ष देशभर ५७ लाख २४ हजार २३४ मेक्ट्रिक टन धान उत्पादन भएको छ । यो पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशत र गत आव २०७९\८० को तुलनामा ४.३३ प्रतिशत धेरै भएको समेत मन्त्रालयले जनाएको छ । गतवर्ष देशभर कुल ५४ लाख ८६ हजार ४७२ मेक्ट्रिक टन धान उत्पादन भएको थियो ।

क्षेत्रफल घट्दा कसरी बढ्यो उत्पादन ?

हाइब्रिड धानको प्रयोग गरिएकोेले सरकारी तथ्यांकमा धानको उत्पादन क्षमता बढेको देखिएको कृषि विज्ञहरु बताउँछन् । तर, रैथाने जातको धानको सट्टा हाइब्रिड लगाउँदा गाँज धेरै आउने, बाला धेरै लाग्ने खालको बनाइने हुँदा उत्पादन बढ्ने भए पनि मासिँदै जाने भएकोले नेपालको लागि रैथाने धान नै उपयुत्त रहेको उनीहरुको बुझाइ छ । हाइब्रिडधानको बिउ ल्याउनमहंगो भएकोले पनि नेपालको लागि रैथाने धान नै उपयुत्त रहेको विज्ञहरु बताउँछन् ।

किन घट्यो उत्पादन ?

कृषि क्षेत्रलाई स्थानियतथा संघीय सरकारले प्रोत्साहनगर्न नसक्दा यस्ता खाद्यवालिको आयातमा वृद्धिभएको कृषि अर्थविज्ञ रामहरी पाण्डे बताउँछन् ।

नेपाल सरकारले कृषि गर्नेलाई उचित अनुदान दिनाले कृषक कृषि पेशाबाट नै पलायन हुँदै गएको कृषि अर्थविज्ञ पाण्डे बताउँछन् । सरकारले कृषि उत्पादनलाई बढावा दिने किसीमका योजना ल्याउन सके आयात केही हदसम्म कम गर्न सकिने उनको भनाइ छ ।

खेती योग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर र सिँचाइको व्यवस्था नहुनु, सिमित व्यक्तिका हातमा धेरै जमिन र जग्गाको खण्डीकरण, उन्नत जातका बीउ वीजन तथा मलखाद तथा अनुदान नहुनु, युवा जनशक्ति पलायन उत्पादन घट्नुको मुख्य कारण भएको उनी बताउँछन् ।

खाद्यान्न लगाउने जनसंख्या घट्दो क्रममा रहेको भन्दै कृषि विज्ञ पाण्डेले भने, “नेपालमा विषेशगरी भारतबाट चामल आयात गर्ने गरेको छ, उपभोक्ताको रोजाइमा नै लन्ग्रेन, बासमती लगायतका चामल पर्छन्, नेपालमा उत्पादित चामलले त बजार नै पाउँदैन अनि कस्ले धान फलाउँछ र ?” बाहिरबाट आउने सबै किसीमका खाद्यान्नलाई निरुत्साहित गर्न सकिए नेपालमा उत्पादन हुने उनको भनाइ छ।

यस्तै, नेपालबाट काम गर्न सक्ने दक्ष जनशक्ति पलायन हुँदा आयात बढिरहेको कृषि विभागका सूचना अधिकारी तथा कृषि विज्ञ तिलकराज चौलागाई बताउँछन् । अधिकांश जमिन बाझो हुनु, खेतीयोग्य जमिनमा बस्ती बस्नु नै अहिलेको मुख्य कारण रहेको उनको भनाइ छ ।

किसानले पाउनु पर्ने लाभकारी मूल्य जस्ता मूलभूत समस्या हल नगरीकन कृषि क्षेत्रको विकाश हुन नसक्ने उनी बताउँछन् । खाद्यान्नमा आत्मनिर्भर हुन सरकारले नै कृषि क्षेत्रलाई प्राथमिकता राख्नआवश्यक रहेको उनको भनाइ छ ।

२० अर्बको धान-चामल आयात

नेपालले चालु आर्थिक वर्षको ११ महिनामा २० अर्ब बराबरको धान र चामल आयात गरेको छ ।  भन्सार विभागका अनुसार आथिर्क वर्ष २०८०\८१ को जेठसम्म ३० करोड ५३ लाख १० हजार ५२० केजी धान अर्थात ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँको धान आयात गरेको छ ।

यसैगरी सो अवधिमा ८ करोड २७ लाख ६९ हजार ८९ केजी चामल अर्थात् ८ अर्ब ६९ करोड ६ लाख ८५ हजार रुपैयाँको चामल आयात गरेको छ ।

यस्तै एघार महिनामा ८८ करोड ६५ लाख २१ हजार रुपैयाँ बराबरको धानको बिउ आयात भएको छ । नेपालले ९ लाख २० हजारको कनिका आयात भएको छ ।

कुन वर्ष कति उत्पादन ?

गत आर्थिक वर्ष (२०७९\८०) मा १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा धान उत्पादन गरिएको थियो । सो क्षेत्रमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको छ। आर्थिक वर्ष २०७८\७९ मा कूल १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रमा धान लगउँदा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो। यस्तै आव २०७७\०७८ मा १४ लाख ७३ हजार ४७४ हेक्टर जमिनमा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको थियो। आर्थिक वर्ष २०७६\०७७मा १४ लाख ५८ हजार ९१५ हेक्टर जमिनमा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो।

आगामी आवको लागि समर्थन मूल्य कति ?

सरकारले आर्थिक वर्ष २०८०\८१ कालागिधानको न्यूनतम समर्थन मूल्यतोकेको छ। सरकारले मोटा धान प्रतिक्वीन्टल तीन हजार एक सय ९८ रूपैयाँ र मध्यमधान प्रतिक्वीन्टल तीनहजार तीन सय ६२ रूपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ ।

चालु आर्थिक वर्ष २०७९\८० मा मोटाधान प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ कायम गरिएको छ।